उदयपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाको विजय

0
49

उदयपुर । उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पारश मणि गेलाल विजयी हुनुभएको छ। अन्तिम मत परिणाम अनुसार उहाँले ३० हजार ५ सय ९० मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धीभन्दा १८ हजार ९८४ मतको फराकिलो अग्रता सहित विजय हासिल गर्नुभएको हो।
उहाँका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका राजेश कुमार राईले ११ हजार ६०६ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहनुभएको छ। त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका बलदेव चौधरीले १० हजार २१ मत, नेपाली काँग्रेसका विदुर वस्नेतले ९ हजार ६७५ मत तथा नेकपा(एमाले)का दुर्गा कुमार थापाले ९ हजार २०६ मत प्राप्त गर्नुभएको छ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सुभास चन्द्र खड्काले ९४१ मत प्राप्त गर्नुभएको छ। अन्य उम्मेदवारहरूमा जनता समाजवादी पार्टीका गणेश कुमार राईले ५९७, उज्यालो नेपाल पार्टीका अर्जुन तामाङले ५६४, मंगोल नेशनल अर्गनाइजेसनका बद्री विक्रम राईले १२०,नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का अमृत बहादुर खत्रीले ११२, संयुक्त नागरिक पार्टीका सुरेश राईले १०१, नेपाली जनता दलका कुशेश्वर चौधरीले ८५, स्वतन्त्र उम्मेदवार देवराज रोकाले ८३, आम जनता पार्टीका मनोज कुमार पौडेलले ४९, नेपाल मजदुर किसान पार्टीका विष्णु बहादुर खत्रीले ४८, राष्ट्रिय जनमोर्चाका लिलकुमार राईले ४४, नागरिक सर्वोच्चता पार्टी नेपालका प्रशान्त कुमार राईले ४४ तथा नेपाल जनमुक्ति पार्टीका गोकर्ण राईले ३० मत प्राप्त गर्नुभएको छ। यस क्षेत्रमा कुल ८० हजार ५९ मत खसेकोमध्ये ७३ हजार ९१६ मत सदर भएका छन् भने ६ हजार १४३ मत बदर भएका छन्।
यसैगरी उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सूर्य बहादुर लामा विजयी हुनुभएको छ। उहाँले १४ हजार ८०२ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अम्बरबहादुर रायमाझीले ७ हजार ६४८ मत प्राप्त गर्नुभएको छ। लामा र रायमाझीबीच ७ हजार १५४ मतको फराकिलो अन्तर रहेको छ। त्यसैगरी नेपाली कांग्रेसका रामकुमार राईले ७ हजार २१० मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गर्नुभएको छ। नेपाल कम्युनिस्ट पार्टीका सुरेशकुमार राईले ५ हजार ९९७ मत तथा श्रम संस्कृति पार्टीका बलराज राईले ४ हजार १३९ मत प्राप्त गर्नुभएको छ। यस क्षेत्रमा कुल ९६ हजार १३१ मतदातामध्ये ४४ हजार ६३४ मत खसेको हो।