उदयपुर । उदयपुरमा आइतबार ११६ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस २०८२ मनाइएको छ। यस वर्षको दिवस “सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्यसहितको अवसर” भन्ने अन्तर्राष्ट्रिय नाराका साथ मनाइएको हो। महिला अधिकार र लैङ्गिक समानता प्रवद्र्धनका लागि हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रािक महिला दिवसको रूपमा मनाइन्छ।
त्रियुगा नगरपालिका, गैसस महासंघ नेपाल, दलित महिला संघ, ओरेक नेपाल उदयपुर, महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुर, आभाषा तथा एकल महिला जिल्ला समितिको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा कोशी प्रदेशका उपसभामुख माननिय सृजना दनुवारले हरेक महिला श्रमिक भएको बताउँदै, महिलाले गर्ने घरायसी र बाह्य कामको उचित मूल्याङ्कन अझै हुन नसकेको बताउनुभयो। उहाँका अनुसार जबसम्म महिलाले गर्ने कामको सम्मान र राज्यबाट मूल्याङ्कन हुँदैन, तबसम्म महिलाहरूले पूर्ण अधिकार पाउन सक्दैनन्।
त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राईले महिलाको श्रमको सम्मान र अधिकार सुनिश्चित गर्न अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । उहाँले महिला अधिकार, समान अवसर र न्याय सुनिश्चित गर्नका लागि सबै सरोकारवाला निकायहरूबीच सहकार्य र समन्वय आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँका अनुसार पहिले एक शब्द बोल्नसमेत संकोच मान्ने अवस्था भएका महिलाहरू आज विभिन्न कार्यक्रम र सार्वजनिक मञ्चमा आफ्ना विचार राख्न सक्ने अवस्थामा पुग्नु आफैंमा ठूलो उपलब्धि भएको उल्लेख गर्दै आगामी दिनमा पनि सबै सरोकारवालासँग हातेमालो गर्दै महिलाको अधिकार, सम्मान र सहभागिता अझ मजबुत बनाउन नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो।
कार्यक्रममा ओरेक नेपालका अध्यक्ष सबिता पोखरेलले अन्तर्राष्ट्रिय महिला दिवसलाई केवल औपचारिक रूपमा मनाउने दिवसका रूपमा मात्र नलिई महिलाको अधिकार, योगदान र संघर्षको कदर गर्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले महिलाले समाज, परिवार तथा राष्ट्रको विकासमा पु¥याउँदै आएको महत्वपूर्ण योगदानको उचित सम्मान र पहिचान हुन आवश्यक रहेको बताउनु भयो । उहाँका अनुसार महिला दिवसलाई उत्सवका रूपमा मनाउँदै महिलाको श्रम, भूमिका र अधिकारप्रति समाजमा सकारात्मक सोच विकास गर्नु आवश्यक छ। यसले महिलाप्रति सम्मान बढाउने मात्र नभई समानता, न्याय र अवसर सुनिश्चित गर्ने वातावरण निर्माणमा समेत सहयोग पुग्ने बताउनुभयो। उहाले महिलाको अधिकार सुनिश्चित गर्न राज्य, स्थानीय तह, संघसंस्था र समुदाय सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिँदै महिलाको सशक्तीकरणका लागि निरन्तर प्रयास आवश्यक रहेको बताउनुभयो।
गाईघाट, पिपल चोकमा आयोजना गरिएका कार्यक्रम महिला मानव अधिकार रक्षक सञ्जालका सचिव जानुका कार्की दङ्गालले गर्नुभएको थियो। कार्यक्रममा स्थानीय महिला अधिकारकर्मी, विद्यार्थी र विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकारहरू सहभागी भएका थिए।






