उदयपुर । उदयपुरमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहान ७ बजेदेखि सुरु भएको मतदान जिल्ला भरका सबै मतदान केन्द्रमा साँझ ५ बजे शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख दिपक दाहालका अनुसार उदयपुरमा कुल ५२ प्रतिशत मत खसेको छ। उहाका अनुसार कुल २ लाख ३८ हजार ९३८ मत मध्ये १ लाख २४ हजार ५९० मत अर्थात ५२ प्रतिशत मत खसेको हो । दुई निर्वाचन क्षेत्र रहेको उदयपुर–१ मा १ लाख ४२ हजार ८०४ मतदातामध्ये ७९ हजार ९५६ जनाले मतदान गरेको र निर्वाचन क्षेत्र २ मा ९६ हजार १२२ मतदातामध्ये ४४ हजार ६३४ जनाले मतदान गरेको जनाइएको छ । निर्वाचन क्षेत्रको हिसावले उदयपुर–१ म ५६ प्रतिशत र उदयपुर–२ मा ४६ प्रतिशत मत खसेको हो । त्रियुगा मावि गाईघाटमा , चौदण्डी र बेलका नगरपालिका गरी तीन स्थानीय तहको ५२ मतदान स्थानका १६० मतकेन्द्रमा मतदान भएको थियो । एक कटारी नगरपालिका, रौतामाई, उदयपुरगढी, लिम्चुङबुङ र ताप्ली चार गाउँपालिका गरी पाँच स्थानीयतहको ५१ मतदान स्थानका ११५ मतदान केन्द्रमा मतदान भएको थियो । उच्च सुरक्षाका साथ विहान ७ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म मतदान भएको हो । मतपेटिका संकलन सकिएपछि सर्बदलिय, सर्बपक्षीय बैंठक बसी गणना थालनी गरिने भएको छ ।





