उदयपुर । उदयपुर क्षेत्र नम्बर –२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सूर्यबहादुर तामाङ फराकिलो मतान्तरसहित विजयी भएका छन्। पुराना राजनीतिक दलका उम्मेदवारलाई भारी मतले पछि पार्दै तामाङले जित सुनिश्चित गरेका हुन्। निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार तामाङले १४ हजार ८ सय २ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अम्बरबहादुर रायमाझीले ७ हजार ६ सय ४८ मत पाएका छन्। तामाङ र रायमाझीबीच ७ हजार १ सय ५४ मतको फराकिलो अन्तर कायम भएको छ। नेपाली कांग्रेसका उम्मेदवार रामकुमार राई ७ हजार २ सय १० मत ल्याएर तेस्रो स्थानमा सीमित भएका छन्। त्यस्तै, नेपाल कम्युनिस्ट पार्टीका सुरेशकुमार राईले ५ हजार ९ सय ९७ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका बलराज राई ४ हजार १ सय ३९ मतसहित पाँचौं स्थानमा रहेका छन्। क्षेत्रमा कुल ९६ हजार १३१ मतदातामध्ये ४४ हजार ६३४ मत खसेको हो।
रास्वपाका जिल्ला सचिवसमेत रहेका लामा यस क्षेत्रबाट पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनी कटारी नगरपालिका–७, मर्जेतपुरका बासिन्दा हुन्। ४१ वर्षीय लामा यसअघि पर्यटन विकास अभियन्ताका रूपमा सक्रिय थिए। उनी २०७९ साल असोजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सक्रिय रहँदै आएका छन्।