२०८२ चैत २६ । आस्था ज्यु ठकुरी — महिला पुनस्र्थापना केन्द्र (ओरेक), नेपालद्वारा संचालित तथा त्रियुगा नगरपालिकाको सहकार्य र संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (UNFPA) को आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन गरिएको “लैङ्गिक हिंसा प्रतिकार्य तथा रोजगारी बीचको सुदृढीकरण परियोजना” अन्तर्गत मन्टेश्वरी विषयक तालिम सम्पन्न भएको छ। ६५ दिन (३९० घण्टा) सञ्चालन गरिएको तालिम लैङ्गिक हिंसाबाट प्रभावित तथा सिमान्तकृत महिलाहरुलाई सुरक्षित वातावरणमा सम्मानजनक रोजगारी उपलब्ध गराई उनीहरुको दिगो आर्थिक सशक्तिकरण प्रवद्र्धन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको हो। कार्यक्रममा ओरेक नेपालका कर्मचारी कमला खड्काले स्थापना कालदेखि नै हिंसा प्रभावित महिलाका सवालमा ओरेकले गर्दै आएको कार्य तथा अभियानबारे जानकारी गराउनुभयो।
यसैगरी, साझेदार संस्थाका कार्यक्रम संयोजक राजकिशोर साफीले महिलाहरु आर्थिक रूपमा सक्षम नभएका कारण समुदायमा हिंसाको जोखिममा पर्ने गरेको उल्लेख गर्दै आर्थिक सशक्तिकरणमार्फत त्यस्ता महिलाहरुलाई सक्षम बनाउने उद्देश्यले परियोजना सञ्चालन गरिएको बताउनुभयो। उहाँका अनुसार हाल यो कार्यक्रम पाइलट चरणमा उदयपुरको त्रियुगा र कटारी नगरपालिका तथा विराटनगर महानगरपालिकामा सञ्चालन भइरहेको छ।
बजारको माग र सहभागीहरुको रुचिअनुसार तालिमको स्वरूप तय गरिएको उल्लेख गर्दै साफीले त्रियुगा क्षेत्रमा मन्टेश्वरी तालिमप्राप्त जनशक्तिको अभाव देखिएकाले नगर प्याब्सनसँगको सहकार्यमा तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो। साथै, तालिम पूरा गरेका सहभागीहरुलाई नयाँ शैक्षिक सत्रसँगै रोजगारीको सुनिश्चितता हुने विश्वास व्यक्त गर्दै उहाँले सहभागीहरुलाई बधाई दिनुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष भक्तिविलास पोखरेलले परियोजनाको सुरुवातदेखि नै आफूहरु अवलोकनमा रहेको बताउँदै महिला तथा बालबालिकाको विषय अत्यन्त संवेदनशील भएकाले यस क्षेत्रमा काम गर्दा सजगता आवश्यक रहेको धारणा राख्नुभयो। मन्टेस्वोरी तालिमबाट सहभागीहरूले महत्वपूर्ण ज्ञान तथा सीप हासिल गरेको बताउदै तालिमका क्रममा बालबालिकालाई कसरी आफू प्रति आकर्षित गर्ने,कसरी सिकाइलाई प्रभावकारी बनाउने तथा विद्यालयको वातावरणलाई कसरी सहज र बालमैत्री बनाउने भन्ने विषयमा उपयोगी सीपहरू सिकेको बताएका छन् । तालिमका प्रशिक्षक होममाया दुलालले मन्टेस्वोरी तालिममार्फत सिकेका सीप र ज्ञानलाई सहभागीहरूले व्यवहारिक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिनु भयो । उहाले सिकाइलाई केवल कक्षामा सीमित नराखी दैनिक जीवन र पेशागत क्षेत्रमा प्रयोग गर्न आग्रह गर्नुभयो। उहाँले तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा सहभागीहरूलाई बधाई दिँदै आगामी दिनमा अझ प्रगति गर्न अग्रिम शुभकामना समेत व्यक्त गर्नुभयो।
तालिम समापन कार्यक्रममा त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त कुमार बस्नेतको अध्यक्षता रहेको थियो भने कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष, साझेदार संस्थाका पदाधिकारी, सामुदायिक संस्थाका प्रतिनिधि, निजी क्षेत्रका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो । तालिम त्रियुगा नगरपालिका–९, राजाबासस्थित महिला पुनस्र्थापना केन्द्र (ओरेक) आधारमा सम्पन्न भएको हो।




