Tuesday, July 21, 2026
Homeप्रमुख समाचारश्रमिक महिला दिवसको अबसरमा किशोरीहरूलाई अभिमुखीकरण

श्रमिक महिला दिवसको अबसरमा किशोरीहरूलाई अभिमुखीकरण

उदयपुर,फागुन २४ । आस्था ज्यु ठकुरी — ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला सशक्तिकरण स्रोत केन्द्र, उदयपुरको आयोजनामा किशोरी तथा युवा महिलाहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी किशोरीहरूले समाजमा महिलाले भोग्नुपरेका हिंसा, विभेद तथा विभिन्न चुनौतीका विषयमा आफ्ना अनुभव र विचारहरू आदान–प्रदान गरेका थिए। छलफलका क्रममा महिलामाथि हुने अन्याय र हिंसाविरुद्ध सचेत रहनुका साथै आफ्नो अधिकारबारे जानकारी राख्दै आत्मविश्वासका साथ आवाज उठाउन आवश्यक रहेकोमा जोड दिइएको थियो। सहभागीहरूले लैङ्गिक समानता कायम गर्न व्यक्तिको सोचाइमा परिवर्तन आउनु आवश्यक रहेको बताउँदै परिवार, समाज र समुदाय सबैको सहयोग र सहकार्य महत्वपूर्ण हुने धारणा व्यक्त गरेका थिए। यस्ता कार्यक्रमहरूले किशोरी तथा युवा महिलाहरूको आत्मविश्वास वृद्धि गर्न र नेतृत्व क्षमताको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ थियो।
कार्यक्रममा विभिन्न खेल गतिविधि तथा व्यक्तिगत धारणा लेख्ने अभ्याससमेत गराइएको थियो। यसमार्फत सहभागीहरूबीच खुला छलफल र अनुभव साटासाट गर्ने वातावरण निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महिला सशक्तिकरण स्रोत केन्द्रका कार्यक्रम संयोजक सुजाता सुवेदीले बताउनुभयो। कार्यक्रममा केन्द्रद्वारा परिचालित त्रियुगा नगरपालिका वडा नं. ८ को शान्ति युवा महिला सञ्जाल, वडा नं. ९ को समृद्धि युवा महिला सञ्जाल, वडा नं. ७ को साझा युवा महिला सञ्जाल र वडा नं. १३ को ज्योति युवा महिला सञ्जालका गरी १४ जना युवा महिलाहरूको सहभागिता रहेको थियो। कार्यक्रम त्रियुगा नगरपालिका–९, नवउदयटोलस्थित महिला सशक्तिकरण स्रोत केन्द्र, उदयपुरको प्राङ्गणमा सम्पन्न भएको हो।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular