उदयपुरमा २१ उम्मेदवारको जमानत जफत

0
38

उदयपुर । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराई चुनाव लडेका उदयपुरका २१ जना उम्मेदवारको जमानत जफत भएको छ । मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार उदयपुरका दुई निर्वाचन क्षेत्रमा कुल ३१ जनाले उम्मेदवारी दर्ता गराएका थिए । तीमध्ये दुई स्वतन्त्रसहित २१ जनाले खसेको कुल मतमध्ये सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा उनीहरूको जमानत जफत भएको हो । उम्मेदवारहरूले जनही १० हजार रुपैयाँका दरले जमानत बुझाएका थिए । एक स्वतन्त्रसहित कुल १८ जनाले उम्मेदवारी दर्ता गराएको उदयपुर–१ मा १३ जना र एक स्वतन्त्रसहित १३ जनाले उम्मेदवारी दर्ता गराएको उदयपुर–२ मा ८ जना उम्मेदवारको जमानत जफत भएको हो ।
दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी विजयी भएको उदयपुरमा उदयपुर–१ बाट पारशमणि गेलाल र उदयपुर–२ बाट सूर्य तामाङ निर्वाचित भएका छन् । उनीहरूबाहेक पाँचौँ स्थानसम्म आएका श्रम संस्कृति पार्टी, नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारको जमानत भने जोगिएको छ । उदयपुर–१ मा ११ हजार ६६० मतका साथ दोस्रो स्थानमा श्रम संस्कृतिका राजेशकुमार राई, १० हजार २१ मतका साथ तेस्रो स्थानमा नेपाली कम्युनिष्ट पार्टीका बलदेव चौधरी, ९ हजार ६७५ मतका साथ चौथो स्थानमा नेपाली कांग्रेसका विदुर बस्नेत र ९ हजार २०६ मतका साथ पाँचौँ स्थानमा नेकपा एमालेका दुर्गाकुमार थापाको जमानत जोगिएको हो । यस क्षेत्रमा खसेको कुल मतमध्ये सदर मत ७३ हजार ९१६ रहेको थियो । जसमध्ये ७ हजार ३९२ भन्दा बढी मत ल्याउने यी पाँच उम्मेदवारमात्र जमानत जोगाउन सफल भएका हुन् । बाँकी उम्मेदवारको मत ९४१ भन्दा कम रहेको थियो । यहाँ ५ हजार ५४७ मत बदर भएको थियो ।
उदयपुर–२ मा ७ हजार ६४८ मतका साथ दोस्रो स्थानमा नेकपा एमालेका अम्बर रायमाझी, ७ हजार २९० मतका साथ तेस्रो स्थानमा नेपाली कांग्रेसका रामकुमार राई, ५ हजार ११७ मतका साथ चौथो स्थानमा नेपाली कम्युनिष्ट पार्टीका सुरेशकुमार राई र ४ हजार १३९ मतका साथ पाँचौँ स्थानमा श्रम संस्कृतिका बलराज राईको जमानत जोगिएको छ । यस क्षेत्रमा खसेको कुल मतमध्ये सदर मत ४० हजार ७६५ रहेको थियो । जसमध्ये ४ हजार ७६ भन्दा बढी मत ल्याउने यी पाँच उम्मेदवारमात्र जमानत जोगाउन सफल भएका हुन् । बाँकी आठ उम्मेदवारले ६०७ भन्दा कम मत प्राप्त गरेका छन् । यहाँ ३ हजार ८७८ मत बदर भएको थियो ।
जमानत जफत हुने उदयपुर–१ का उम्मेदवारमध्ये सबैभन्दा कम ३० मत नेपाल जनमुक्ति पार्टीका गोकर्ण राईले प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय जनमोर्चाका लिलबहादुर राई र नागरिक सर्वोच्चता पार्टी नेपालका प्रशान्तकुमार राईले समान ४४ मत प्राप्त गरेका छन् । नेपाल मजदुर किसान पार्टीका विष्णुबहादुर खत्रीले ४८, आम जनता पार्टीका मनोजकुमार पौडेलले ४९,स्वतन्त्र उम्मेदवार देवराज रोकाले ८४, नेपाली जनता दलका कुशेश्वर चौधरीले ८५, संयुक्त नागरिक पार्टीका सुरेश राईले १०१, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) विप्लवका अमृतबहादुर खत्रीले ११२ र मंगोल नेशनल अर्गनाइजेशनका बद्रीविक्रम राईले १२० मत प्राप्त गरेका छन् । त्यस्तै उज्यालो नेपाल पार्टीका अर्जुन तामाङले ५६४, जनता समाजवादी पार्टीका गणेशकुमार राईले ५९७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सुभासचन्द्र खड्काले ९४१ मत प्राप्त गरेका छन् ।
उदयपुर–२ मा जमानत जफत हुने उम्मेदवारमध्ये सबैभन्दा कम ४० मत नेपाल मजदुर किसान पार्टीका पूर्णबहादुर बुढाथोकीले प्राप्त गरेका छन् । त्यस्तै आम जनता पार्टीका बमबहादुर मगरले ८५, स्वतन्त्र उम्मेदवार मेजरकुमार राईले ९०, जनता समाजवादी पार्टीका केशबहादुर मगरले १०३ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) विप्लवका दुर्गाबहादुर तामाङले १५२ मत प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुबहादुर खड्काले २२०, मंगोल नेशनल अर्गनाइजेशनका भाष्कर राईले ३८३ र राष्ट्रिय परिवर्तन पार्टीका अरुण राईले ६०७ मत प्राप्त गरेका छन् ।