रेडियो उदयपुर, असोज २५ गते शनिबार । हरेक वर्ष अक्टोबर ११ मा विश्वभर ‘अन्तर्राष्ट्रिय बालिका दिवस’ मनाइन्छ। सन् २०११ मा संयुक्त राष्ट्रसंघले यो दिवस घोषणा गरेपछि सन् २०१२ देखि विश्वव्यापी रूपमा मनाउन थालिएको हो।
समाजमा रहेको लैङ्गिक विभेदका कारण बालिका तथा किशोरीहरू बालकको तुलनामा बढी विभेद, हिंसा र दुव्र्यवहारको जोखिममा पर्ने भएकाले यो दिवसको परिकल्पना गरिएको हो। यस दिवसले बालिकाको अधिकार, सशक्तीकरण र समान अवसर सुनिश्चित गर्न विश्व समुदायलाई जागरूक बनाउने उद्देश्य लिएको छ।
यस वर्षको अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा महिला सशक्तिकरण स्रोत केन्द्र, उदयपुरको आयोजनामा ‘युवा बहस कार्यक्रम’ सम्पन्न भएको छ। कार्यक्रममा किशोर–किशोरीबीच अनुभव आदान–प्रदानसँगै युवाका सवालमा प्यानल छलफल समेत गरिएको थियो।
कार्यक्रममा त्रियुगा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार खड्काले स्थानीय सरकारले किशोर–किशोरी तथा युवालाई लक्षित गर्दै सञ्चालन गर्दै आएका कार्यक्रम र योजनाबारे जानकारी गराउनुभएको थियो ।
त्यस्तै युएनएफपीए उदयपुरका किशोर साफीले युवाको सोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणादायी सन्देश दिनुभयो।
गैरसरकारी संस्था महासंघ, उदयपुरका उपाध्यक्ष सागर नेपालले हरेक क्षेत्रमा युवाको नेतृत्व र सहभागिता अपरिहार्य रहेको बताउनुभयो। त्यसैगरी ओरेक नेपाल, उदयपुरका जिल्ला संयोजक वाला कार्कीले युवा र लैङ्गिक हिंसासम्बन्धी विषयमा आफ्ना विचार राख्नुभयो।
युवा अभियन्ता तथा अधिवक्ता समिर चौलागाईंले ‘व्यक्तित्व विकास र युवा सशक्तीकरण’ विषयमा प्रेरणादायी विचार राख्दै व्यक्तित्व विकास भनेको चेतना, ज्ञान र कार्यक्षमताको स्तर वृद्धि हो भनी उल्लेख गर्नुभयो। उहाँले युवाहरूले समाज रूपान्तरणका अग्रपंक्तिमा रहनु पर्नेमा जोड दिनुभयो।
चौडण्डीगढी नगरपालिकाका महिला विकास निरीक्षक बबिता परियारले ‘महिला नेतृत्व र रूपान्तरण’ विषयमा आफ्नो विचार राख्नुभयो। त्यसैगरी जेन्जी पुस्ताको र्फबाट रञ्जना मगर र रुपेश कार्किले सामाजिक संरचना र किशोरीहरूको सवालमा वर्तमान अवस्थामा युवाको सहभागिता र नेतृत्वको महत्त्वबारे आफ्नो भनाइ राख्नुभयो।
महिला सशक्तीकरण स्रोत केन्द्रको कार्यकारी निर्देशक बन्दना दनुवारले गल्र्ज डे को अबसर पारेर सुरु गरिएको युवा बहस कार्यक्रम आगामी दिनमा जिल्लाको बिभिन्न स्थानहरुमा आयोजना गरिने बताउनु भयो ।
कार्यक्रममा विभिन्न युवा समूहहरूले सांस्कृतिक प्रस्तुति पनि दिएका थिए। त्रियुगा युवा महिला सञ्जालले गीतिनाटक, त्रियुगा नगरपालिका–८ का शान्ति युवा महिला सञ्जालले सशक्तीकरणसम्बन्धी नृत्य, थारु युवा महिला सञ्जालले थारु भाषामा नृत्य, र त्रियुगा नगरपालिका–३ का सिर्जनशील युवा महिला सञ्जालले बालविवाह न्यूनिकरण सम्बन्धी नाटक प्रस्तुत गरेका थिए।
कार्यक्रम महिला सशक्तिकरण स्रोत केन्द्र, उदयपुरका अध्यक्ष ज्योति दनुवारको अध्यक्षतामा त्रियुगा नगरपालिका–९ राजाबासस्थित ओरेक आधारमा सम्पन्न भएको हो।