महिला पुनस्र्थापना केन्द्र (ओरेक) को २५औं साधारणसभा तथा १७औं अधिवेशन सम्पन्न

0
130

रेडियो उदयपुर, २०८२ असोज २६ गते आईतबार । महिला पुनस्र्थापना केन्द्र (ओरेक) को २५औं वार्षिक साधारणसभा तथा १७औं अधिवेशन सम्पन्न भएको छ। असोज २५ र २६ गते काठमाडौंमा सम्पन्न अधिवेशनले आगामी दुई वर्षका लागि सविता पौडेललाई अध्यक्षमा पुनः चयन गरेको छ।
नव–निर्वाचित कार्यसमितिमा उपाध्यक्ष अम्विका रुपाखेती, सचिव संगिता अधिकारी, कोषाध्यक्ष खुमा घर्ती मगर र सदस्यहरूमा सरियार चौधरी, विनिता पाण्डे, रुपा श्रेष्ठ, सविना राई, इन्दिरा ज्ञवाली, सरस्वती नेपाली र शिवकुमारी गुरुङ चयन भएका छन्।  अधिवेशनको उद्घाटन सत्रमा राष्ट्रिय महिला आयोगकी कार्यवाहक अध्यक्ष कृष्ण कुमारी पौडेल, राष्ट्रिय दलित आयोगकी कार्यवाहक अध्यक्ष मीना देवी सोव, समाज कल्याण परिषद्का कार्यकारी निर्देशक संजीव कुमार मल्लिक, सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष कृष्ण न्यौपाने लगायत सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, सरोकारवाला र सञ्चारकर्मी गरी करिब १०० जनाको सहभागिता थियो। साधारणसभाको पूर्वसन्ध्यामा “विपद्, आप्रवासन र महिलाको कामको अधिकारको अन्तरसम्बन्ध, चुनौती र आगामी बाटो” शीर्षकमा छलफल सत्र आयोजना गरिएको थियो।
उक्त सत्रको सहजीकरण संस्थापक अध्यक्ष तथा संरक्षक डा. रेणु अधिकारीले गर्नुभएको थियो। सत्रमा विपद्को समयमा महिला, बालिका र किशोरीमाथि पर्ने प्रभाव, त्यसले उत्पन्न गर्ने स्थानान्तरण र महिलाको काम तथा अधिकारमा पर्ने असरबारे विश्लेषणात्मक छलफल भएको थियो। अन्तरक्रियामा सहभागी वक्ताहरूले जलवायु परिवर्तनका असरहरू बढ्दै गएको सन्दर्भमा सक्षम र उत्तरदायी महिला नेतृत्वको आवश्यकता औंल्याएका थिए।
साधारण सभा तथा अधिवेशन सत्रमा सचिव संगिता अधिकारीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष इन्द्रावती नेम्बाङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो।
कार्यकारी निर्देशक सुनिता मैनालीले विगत वर्षको कार्यप्रगति प्रस्तुत गर्दै संस्थाले असमान शक्ति सम्बन्ध, संरचनागत विभेद र हानिकारक सामाजिक अभ्यासहरूलाई चुनौती दिँदै महिलाको अधिकार र न्यायका पक्षमा निरन्तर काम गरिरहेको बताउनुभयो।
नव–निर्वाचित अध्यक्ष अधिवक्ता सविता पोखरेलले आफ्नो कार्यकालमा संस्थाका गतिविधिलाई अभियानमुखी ढङ्गमा सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो।
संस्थापक अध्यक्ष डा. रेणु अधिकारीले रुपान्तरणको सुरुवात आफैंबाट गर्नुपर्नेमा जोड दिँदै, “सही महिलाको नेतृत्व चयन र जिम्मेवार सहभागिता नै आजको आवश्यकता रहेको बताउनु भयो ।,”
त्यसैगरी, समाज कल्याण परिषद्का निर्देशक संजीव कुमार मल्लिकले गैरसरकारी संस्थाहरूले देश विकासमा योगदान दिइरहेको बताउँदै सरकारले ती संस्थाका लागि सहज वातावरण बनाउनुपर्ने बताउनुभयो।
राष्ट्रिय महिला आयोगका माननीय श्री कृष्ण कमारी पौडेल र राष्ट्रिय दलित आयोगका माननीय श्री मीना देवी सोबले ओरेकले दलित र पछाडि पारिएका समुदायका महिलाका अधिकारका क्षेत्रमा पु–याएको योगदानको प्रशंसा गर्दै नयाँ कार्यसमितिमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गरे।
अधिवेशनको समापन सत्रमा संस्थालाई विगत १७ बषदेखि विभिन्न पदमा रहि विशेष गरी वित्तीय पारदर्शिता कायम गार्न योगदान पुयाउनु भएका ओरेकका बरिष्ठ वित्त तथा प्रशासन संयोजक श्री दिपेन्द्र विश्वकर्मा र संस्थालाई चुनौतीपूर्ण र अबस्थाबाट पार लगाउन महत्वपूर्ण भू्मिका खेल्लुभएका कार्यकारी निर्देशक सुनिता मैनालीलाई संस्थाका तर्फबाट सम्मान गरिएको थियो।