Tuesday, July 21, 2026
Homeकोशी प्रदेशमहिला सशक्तिकरण स्रोत केन्द्रको १७औं वार्षिक साधारण सभा तथा ७औं अधिवेशन सम्पन्न

महिला सशक्तिकरण स्रोत केन्द्रको १७औं वार्षिक साधारण सभा तथा ७औं अधिवेशन सम्पन्न

रेडियो उदयपुर, २०८२ असोज ३० गते बिहिबार । महिला सशक्तिकरण स्रोत केन्द्रको १७औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशन बिहीबार उदयपुरमा भव्यताका साथ सम्पन्न भएको छ। उद्घाटन समारोहमा संस्थापक अध्यक्ष डाक्टर रेणु अधिकारी र कोशी प्रदेशका उपसभामुख माननीय सिर्जना दनुवारले पानसमा बत्ती बालेर संयुक्त रूपमा कार्यक्रमको शुभारम्भ गर्नुभयो।कार्यक्रममा केन्द्रका उपाध्यक्ष सुस्मा सार्कीले आर्थिक वर्ष २०८१÷८२ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै, संस्थाले समुदाय तहमा महिलाको अनुभव र भोगाइमा आधारित सूचना प्रवाहमार्फत सामाजिक रुपान्तरणका लागि निरन्तर काम गर्दै आएको जानकारी दिनुभयो। त्यसैगरी, कार्यकारी निर्देशक बन्दना दनुवारले स्थानीय महिलाको सीप, ज्ञान र अनुभवलाई संकलन गरी युवा महिलाहरूको नेतृत्वमा सञ्चालित सञ्चार माध्यममार्फत महिला, युवा र किशोरीहरूको निर्णय प्रक्रियामा पहुँच बढाउने लक्ष्यका साथ संस्था अघि बढिरहेको बताउनुभयो।अधिवेशनले आगामी तीन वर्षका लागि ज्योति दनुवारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। उक्त कार्यसमितिमा उपाध्यक्ष सुस्मा कुमारी सार्की, सचिव जानुका कार्की, कोषाध्यक्ष आरती दनुवार, र सदस्यहरूमा रञ्जु दनुवार, रञ्जना कार्की, देवकुमारी राउत, रञ्जु चौधरी र रञ्जना मगर चयन भएका छन्।
सभामा अधिकारकर्मी तथा संस्थापक अध्यक्ष डाक्टर रेणु अधिकारीले नयाँ पुस्ताप्रति गरिएको विश्वास र जिम्मेवारीकै कारण संस्था आजको अवस्थामा पुगेको बताउनुभयो। उहाँले“२० वर्षअघि नयाँ पुस्ताले गर्न सक्छ भन्ने विश्वासका साथ जिम्मेवारी दिइएको थियो, आज सोही विश्वासको प्रतिफलका रूपमा संस्था सफल बनेको बताउनु भयो ।
कोशी प्रदेशकी उपसभामुख माननीय सिर्जना दनुवारले संस्था निरन्तर नयाँ पुस्ता उत्पादन गर्दै उदाहरणीय संस्था बनेको बताउनुभयो। त्यसैगरी, त्रियुगा नगरपालिकाका उप–प्रमुख महेश्वरी राईले महिला सशक्तिकरण स्रोत केन्द्रले पारदर्शिता, सुशासन र न्यायका लागि निरन्तर काम गर्दै आएको बताउनुभयो। उहाँले समुदायमा शैक्षिक गुणस्तर सुधार, व्यक्तित्व विकास र नेतृत्व निर्माणमा संस्थाको भूमिका उल्लेखनीय रहेको समेत बताउनुभयो। कार्यक्रम केन्द्रका अध्यक्ष ज्योति दनुवारको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा महिला अधिकारकर्मि, गैससकर्मि, जनप्रतिनिधि, सन्चारकर्मि र स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular