उदयपुर,असार १२ । लागूऔषध दुरुपयोग र ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय सप्ताहव्यापी दिवस उदयपुरमा प्रभातफेरी र्यालीसहित सम्पन्न गरिएको छ।
जुन २० देखि २६ अर्थात् नेपाली पात्रो अनुसार असार ६ गतेदेखि १२ गतेसम्म मनाइने उक्त दिवसको अन्तिम दिन गाईघाटको पिपल चोकबाट प्रभातफेरी गरी नगर परिक्रमारूपमा समापन गरिएको हो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मातहतका कर्मचारी, सुरक्षा निकाय, शिक्षक, विद्यार्थी, पत्रकार र सामाजिक अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
सप्ताहको सुरुवात जिल्ला प्रशासन कार्यालयको सभाहलमा सरोकारवालासँग अन्तरक्रियामार्फत गरिएको थियो । त्यसपछि असार ७ गते त्रियुगा, बेलका र कटारी नगरपालिकास्थित विद्यालय तथा कलेजहरूमा लागूऔषधविरुद्ध सचेतना कक्षा सञ्चालन गरिएको थियो ।
त्यसैगरी, असार ८ देखि ११ गतेसम्म जिल्लामा सञ्चालनमा रहेका दुईवटा लागूऔषध उपचार तथा पुनस्र्थापना केन्द्रहरूको सेवा, उपचारार्थ संख्या, सफल पुनस्र्थापनाका विवरण संकलन र सार्वजनिक गरिएको थियो भने असार १० देखि १२ गतेसम्म त्रियुगाको लालपत्ता, बेलकाको चतरा कोठु, र कटारी, सिन्धुलीको सिमराही सहितका नाकाहरूमा लागूऔषध ओसारपसार नियन्त्रणका लागि स्थलगत निरीक्षणसमेत गरिएको थियो ।
असार ११ गते लागूऔषध दुव्र्यसनमुक्त समाज निर्माणमा युवा र समाजको भूमिकाबारे माविस्तरीय वक्तृत्वकला प्रतियोगिता र त्रियुगा जनता बहुमुखी क्याम्पसमा अनुशिक्षण कार्यक्रम पनि आयोजना गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलका अनुसार सप्ताहव्यापी अभियानले लागूऔषधविरुद्ध सचेतना फैलाउनुका साथै सरोकारवालाबीच सहकार्य र समन्वयलाई मजबुत बनाएको छ ।
उहाले यस्तो किसिमका नियमित र सहभागीमूलक कार्यक्रमले मात्र समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गर्नु भयो ।