नागरिकताको प्रमाणपत्रमा आमाको नाम अनिवार्य

0
247

रेडियो उदयपुर, साउन ६ – अबदेखि नागरिकताको प्रमाणपत्रमा आमाको नाम अनिवार्य रूपमा समावेश गर्नुपर्ने भनि प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले सबै स्थानीय तहलाइ सहजीकरण र सुचनाको लागि पत्रचार गर्नु भएकोछ । जिल्ला भित्रका सम्पूर्ण स्थानीय तह र तिनका वडा कार्यालयहरुलाई नागरिकताको सिफारिस गर्दा आमाको विवरण छुट्न नदिन अनुरोध गर्नु भएको छ ।
नेपाल नागरिकता नियमावली, २०६३ को अनुसूची १ अनुसार वडा कार्यालयहरूबाट नयाँ नागरिकताको लागि सिफारिस आउँदा पूर्ण विवरण नपुगेको र विशेषगरी आमाको नाम खाली हुने पाइएकोले अबदेखि अनलाइन प्रणाली मार्फत हुने सिफारिस फारममा आमाको महल खाली नराखी, आमाको नागरिकता अनुसारको नाम स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने बताउनु भएको छ ।
उहाले जनसेवामा सहजीकरणका लागि सिफारिसमा पूर्ण विवरण भर्न सबै वडालाई निर्देशन दिएको बताउँदै सनाखतका लागि वडा कार्यालय पुग्ने व्यक्तिलाई आमाको सक्कल नागरिकता अनिवार्यरूपमा साथमा लिएर जान जानकारी गराउन पनि अनुरोध गर्नु भएको छ ।
यस सूचना मार्फत प्रमुख जिल्ला अधिकारीले त्रियुगा, कटारी, बेलका, चौदण्डीगढी नगरपालिकासहित उदयपुरगढी, रौतामाई, लिम्चुङबुङ र ताप्ली गाउँपालिकाका वडा कार्यालयहरू लगायत सम्पूर्ण स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूलाई नागरिकता सिफारिस सम्बन्धी प्रक्रियामा सावधानी अपनाउन समेत आग्रह गर्नु भएको छ ।