उदयपुर, बैरेनी — मलेसियामा रोजगारीका लागि गएका उदयपुर त्रियुगा नगरपालिका–८ बैरेनीका ४० वर्षीय भोजु दनुवार शंकास्पद अवस्थामा मृत फेला परेका छन्।
तीन वर्षअघि सप्तकोशी मेनपावरमार्फत मलेसिया गएका दनुवारले मृत्युअघि आफ्नी श्रीमती बिनिता दनुवारलाई अडियो सन्देश पठाएका थिए। अडियो सन्देशमा उनले कम्पनीका सुपरभाइजरले आफूलाई मार्न केटाहरू खटाएको दाबी गरेका थिए। “तिनीहरूले मलाई भित्र भए पनि मार्छन्, बाहिरै गए पनि मार्छन्। तिनीहरूले मार्नु भन्दा बरु म आफैं मर्छु,“ अडियोमा उनले भनेका छन्।
बिहीबार उक्त अडियो सुनेपछि बिनिता भावविह्वल भएकी थिइन् भने शुक्रबार श्रीमान् झुन्डिएको अवस्थामा फेला परेको खबर प्राप्त भएको थियो। श्रीमानको मृत्युको खबरपछि बिनिता चार दिनदेखि अचेत अवस्थामा छिन्। अत्यधिक रोदनले उनको आँखा सुन्निएको र स्वर समेत भासिएको परिवारले जनाएको छ।
परिवारले मृतक दनुवारको मृत्यु शंकास्पद भएको भन्दै घटनाको छानबिनको माग गरेको छ। उनका अनुसार, शव झुन्डिएको अवस्थामा फेला परेको भए पनि घाँटीमा डोरीले कसिएको कुनै रेखा देखिँदैन। शव सुतेको जस्तै अवस्थामा देखिएको परिवारको दाबी छ।
परिवारले सुरक्षित आप्रवासन परियोजना (सामि) मार्फत आइतबार घटनाबारे जानकारी गराउँदै औपचारिक रूपमा प्रक्रिया अघि बढाएको छ। जिल्ला प्रशासन कार्यालय अन्तर्गतको सामि परियोजनाले मलेसियास्थित सम्बन्धित निकायलाई तत्काल जानकारी गराउने र सोही आधारमा पोस्टमार्टमको प्रक्रिया अघि बढाइने जनाएको छ।
मलेसियास्थित नेपाली दूतावास (एमबेसी) को स्वीकृतिपछि पोस्टमार्टम गरी घटनाको वास्तविकता पत्ता लगाउने र दोषी देखिए कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रशासन कार्यालय, उदयपुरले जनाएको छ। हाल भोजु दनुवारको शव मलेसियास्थित अस्पतालमा राखिएको छ।
मलेसियामा उदयपुरका भोजु दनुवारको शंकास्पद मृत्यु, छानबिन गर्न परिवारको माग
RELATED ARTICLES


