Tuesday, July 7, 2026
Google search engine
Homeप्रमुख समाचारदनुवार समुदायको अवस्था अनुगमन तथा अधिकारसम्बन्धी प्रशिक्षण

दनुवार समुदायको अवस्था अनुगमन तथा अधिकारसम्बन्धी प्रशिक्षण

उर्मिला दनुवार,असार ८ गते । आदिवासी जनजाति आयोगको आयोजना तथा दनुवार महिला समाज सुधार संघको संयोजनमा दनुवार समुदायको अवस्था अनुगमन तथा आदिवासी जनजाति अधिकारसम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । त्रियुगा नगरपालिका–९, दिपटोलस्थित दनुवार महिला समाज सुधार संघको सभाहलमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष रामबहादुर थापा मगरले नेपालको संविधानले आदिवासी जनजातिहरूलाई प्रदान गरेका हक–अधिकार, प्रचलित कानुनी व्यवस्था, अन्तर्राष्ट्रिय महासन्धिहरू तथा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) १६९ ले सुनिश्चित गरेका अधिकारका विषयमा प्रशिक्षण दिनुभएको थियो।
उहाँले दनुवार समुदायले आफ्नो पहिचान, अधिकार र अवसर सुनिश्चित गर्न संघ, प्रदेश तथा स्थानीय सरकारसँग संवेदनशील ढंगले आफ्ना मागहरू प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो। साथै, मागको सुनुवाइ नभएमा संगठित रूपमा दबाब सिर्जना गर्दै अधिकार प्राप्तिका लागि निरन्तर पहल गर्न आवश्यक रहेको बताउनुभयो। दनुवार महिला समाज सुधार संघका अध्यक्ष अर्चना दनुवारको विशेष पहलमा आयोजित उक्त कार्यक्रमको सहजीकरण नेपाल दनुवार समाज उदयपुरका अध्यक्ष केदार दनुवारले गर्नुभएको थियो। कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष शारदा दनुवार, दनुवार जागरण समितिका प्रदेश अध्यक्ष गणेश दनुवार, जिल्ला सचिव भरतराज दनुवार, त्रियुगा नगर सचिव शिवकुमार दनुवारलगायत ३५ जना दनुवार समुदायका अगुवा, बुद्धिजीवी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
सहभागीहरूले कार्यक्रममार्फत आदिवासी जनजाति आयोगको काम, कर्तव्य र अधिकारका विषयमा महत्वपूर्ण जानकारी प्राप्त भएको प्रतिक्रिया दिएका छन्। साथै, दनुवार समुदायको वर्तमान अवस्था, चुनौती र अधिकार सुनिश्चितताका लागि आगामी दिनमा थप समन्वय र पैरवी आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका छन्।

 

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular