उदयपुरमा ‘अनुपम अभियान’ अन्तर्गत कोणसभा सम्पन्न

0
11

उदयपुर, असार ७ । अनुपम अभियानअन्तर्गत उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१०, गाईघाटमा आइतबार कोणसभा कार्यक्रम सम्पन्न भएको छ। महिला सशक्तीकरण स्रोत केन्द्र र चेलीबेटी विकास समाज को समन्वय तथा टेवा, नागरिक आवाज र आईजीएफएफको सहकार्यमा आयोजित कार्यक्रममा विभिन्न संघसंस्था, महिला जनप्रतिनिधि तथा स्थानीय समुदायका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै परिकल्पनाकार थापाले आईजीएफएफ टेवा नामक संस्थाको कानुनी संरक्षणमा सञ्चालन भइरहेको बताउनुभयो । उहाँले विगत चार वर्षदेखि सञ्चालन भइरहेको अनुपम अभियानले स्थानीय तहको प्रमुख नेतृत्वमा महिलाको सहभागिता बढाउने लक्ष्य लिएको उल्लेख गर्दै आगामी २०८४ सालको स्थानीय तह निर्वाचनमा मेयर तथा गाउँपालिका अध्यक्षजस्ता पदमा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न अभियान केन्द्रित रहेको बताउनुभयो । मञ्चकी सदस्य छिङ ल्हामु शेर्पाले महिलाहरू राजनीतिक दलभित्र सीमित भूमिकामा मात्र नअड्किई नेतृत्व तहमा पुग्नुपर्ने बताउनुभयो । देशका विभिन्न राजनीतिक आन्दोलन तथा परिवर्तनका अभियानमा महिलाहरूको महत्वपूर्ण योगदान रहेको स्मरण गराउँदै उहाँले राजनीतिक दलहरूले अझै पनि जित्न कठिन मानिएका क्षेत्रमा मात्र महिलालाई उम्मेदवार बनाउने प्रवृत्ति कायम रहेको उल्लेख गर्नुभयो । उहाँले महिलाहरू उपमेयर वा उपाध्यक्ष पदमा सीमित हुने वर्तमान प्रवृत्ति अन्त्य गर्दै आगामी स्थानीय तह निर्वाचनमा बढी सङ्ख्यामा महिलाहरू मेयर र अध्यक्ष पदमा निर्वाचित हुनुपर्ने बताउनुभयो। 
कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै आईजीएफएफ सदस्य डा. सुसन रिसालले अनुपम अभियान अन्तर्गत पहिलो वर्ष महिलाको राजनीतिक सहभागिताबारे बहस, दोस्रो वर्ष देशव्यापी यात्रा, तेस्रो वर्ष हस्ताक्षर अभियान र चौथो वर्ष कोणसभा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो। परिवर्तन समुदायका कुनाकुनाबाट उठ्ने आवाजबाट सम्भव हुने भएकाले देशभर कोणसभा कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो। सदरमुकाम गाईघाटको पिपल चोकमा आयोजित कोणसभा कार्यक्रममा मूलधार महिला सेवा केन्द्र, महिला सशक्तीकरण स्रोत केन्द्र, चेलीबेटी विकास समाज, साझा सेवा घर, त्रियुगा कृषि महिला समूह, रौता हिट केन्द्र तथा महिला सामुदायिक संस्था लगायत विभिन्न संस्थाका सदस्य र महिला जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा करिब १०० भन्दा बढी महिलाहरू सहभागी भएको आयोजकले जनाएको छ ।