बरिस्टा तथा ब्युटी पार्लर तालिम समापन, उद्यमशीलतामा जोड

0
10

उदयपुर, असार ९ ।  त्रियुगा नगरपालिकाको समन्वय तथा सहकार्य,यूएनएफपीएको आर्थिक सहयोग तथा महिला पुनस्र्थापना केन्द्र (ओरेक) उदयपुरको आयोजनामा सञ्चालन गरिएको बरिस्टा तथा ब्युटी पार्लर तालिमको समापन कार्यक्रम मंगलबार ओरेक आधारमा सम्पन्न भएको छ। कार्यक्रममा ओरेक उदयपुरका जिल्ला संयोजक बाला कार्कीले तालिमको उद्देश्य, आवश्यकता तथा सहभागीहरूको सीप विकास, रोजगारी र स्वरोजगारमा यसले पु¥याउने योगदानबारे प्रकाश पार्दै स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभयो। ओरेक उदयपुरद्वारा सञ्चालित २५ दिने बरिस्टा तालिम तथा ७८ दिने ब्युटी पार्लर तालिममा प्रशिक्षक हेमन्त अधिकारी र भिमकुमारी राईले सहजीकरण गर्नुभएको थियो। प्रशिक्षण अवधिभर सहभागीहरूले बरिस्टा तथा ब्युटी पार्लरसँग सम्बन्धित सैद्धान्तिक तथा व्यावहारिक ज्ञान तथा सीप हासिल गरेका थिए। सहभागीहरूले तालिमअघि र पछिको अनुभव साझा गर्दै यसले आफ्नो आत्मविश्वास, क्षमता र हौसला अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। उनीहरूले सीपमूलक तालिमसँगै विभिन्न व्यवहारिक विषयमा समेत ज्ञान हासिल गर्न पाउँदा दैनिक जीवन तथा भविष्यको जीविकोपार्जनमा सकारात्मक प्रभाव परेको बताएका छन् ।

प्रशिक्षकहरूले सहभागीहरूको सिकाइप्रतिको लगनशीलताको प्रशंसा गर्दै प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न सुझाव दिएका थिए। साथै, भविष्यमा यस्ता थप सीप विकासमूलक तालिम सञ्चालन हुनुपर्ने आवश्यकता औँल्याएका थिए।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ उदयपुरका अध्यक्ष सृजना बस्नेतले सहभागीहरूले हासिल गरेको ज्ञान, सीप र क्षमतालाई दिगो जीविकोपार्जन तथा उद्यमशीलताको माध्यम बनाउन सफल हुने विश्वास व्यक्त गर्दै शुभकामना दिनुभयो।

समापन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख बसन्तकुमार बस्नेतले सीपमूलक तालिमले युवायुवती तथा महिलाहरूलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई आयआर्जन तथा उद्यमशीलतामा प्रयोग गर्न सहभागीहरूलाई प्रेरित गर्नुभयो।

त्यसैगरी नगर उपप्रमुख महेश्वरी राईले सहभागीहरूको सीपप्रतिको रुचि र इच्छाशक्तिलाई मध्यनजर गर्दै स्थानीय तह, प्रदेश सरकार तथा विभिन्न संघसंस्थासँग समन्वय गरी यस्ता तालिमका अवसरहरू थप विस्तार गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको समापन त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्तकुमार बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नगर उपप्रमुख महेश्वरी राई, साझेदार संस्थाका प्रतिनिधि, प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो।