रेडियो उदयपुर,पुस २० गते । उदयपुरको बेलका नगरपालिका–३ स्थित किरातचोकमा पारिवारिक विवादका क्रममा धारिलो छुरा प्रहार हुँदा एक महिलाको मृत्यु भएको छ। घटनापछि उनका श्रीमानले आत्महत्याको प्रयास गरेका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आइतबार बिहान करिब ८ बजे बेलका नगरपालिका–३ किरातचोक बस्ने करिब ३० वर्षीय खगेन्द्र राई र उनकी २७ वर्षीया श्रीमती भावना भन्ने गंगा राईबीच आपसी झै–झगडा भएको थियो। सो क्रममा खगेन्द्र राईले श्रीमतीमाथि धारिलो छुरा प्रहार गरेका थिए। गम्भीर घाइते भएकी गंगा राईलाई उपचारका लागि वि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको थियो। तर बिहान ९ बजेर ५० मिनेटमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। श्रीमतीमाथि छुरा प्रहार गरेपछि खगेन्द्र राईले आफ्नै शरीरमा समेत छुरा प्रहार गरी आत्महत्याको प्रयास गरेका थिए। स्थानीयवासीले देखेपछि उनलाई तत्काल सोही अस्पतालमा उपचारका लागि पु¥याइएको थियो। हाल उनको उपचार प्रहरीको प्रत्यक्ष निगरानीमा भइरहेको छ। घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरी टोली खटिएको छ। घटनास्थलको मुचुल्का उठाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उदयपुरमा श्रीमानको छुरा प्रहारबाट श्रीमतीको मृत्यु
RELATED ARTICLES


