रेडियो उदयपुर ,पुस १५ । उदयपुरका महिलाहरूले महिला सशक्तिकरण, न्याय र समानताको नारासहित मंगलबार मोटरसाइकल यात्रा गरेका छन्। ‘महिला सशक्तिकरण, आत्मनिर्भरता र समान अधिकार’को सन्देश फैलाउने उद्देश्यसहित आयोजित उक्त यात्रामा महिलाहरूले गाईघाटदेखि चतारासम्म मोटरसाइकल यात्रा गरेका हुन्।
महिला बाइक राइडर उदयपुरको आयोजना तथा महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरको सहकार्यमा सम्पन्न यात्रा सदरमुकाम गाईघाटस्थित पिपल चोकबाट बिहान ११ बजे सुरु भएको थियो। पिपल चोकबाट सुरु भएको टोलीले करिब ५५ किलोमिटर दूरी तय गर्दै उदयपुर–सुनसरीको सीमास्थित बेलका नगरपालिका–८ चतारा कोशी पुल पुगेर पुनः गाईघाट फर्किएको थियो।
यात्राको शुभारम्भ कोशी प्रदेशका माननीय उपसभामुख सिर्जना दनुवार र त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राईले गाईघाटमा सहभागी महिला राइडरहरूलाई खादा ओढाएर गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै माननीय उपसभामुख दनुवारले महिलाले स्कुटर मात्र र पुरुषले मोटरसाइकल चलाउने भन्ने सोच अझै समाजमा विद्यमान रहेको उल्लेख गर्नुभयो। महिला र पुरुषबीच रहेको विभेद अन्त्य गरी समानता स्थापित गर्न यस्ता मोटरसाइकल यात्राले महत्वपूर्ण भूमिका खेल्ने उहाँको विश्वास थियो।
त्यसैगरी त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राईले महिलाहरू पुरुषसरह सबै क्षेत्रमा काम गर्न सक्षम हुँदाहुँदै पनि पितृसत्तात्मक सोचका कारण महिलाप्रति हेर्ने दृष्टिकोण अझै फरक रहेको बताउनुभयो। महिलाको क्षमता र योगदानलाई सम्मान गर्दै समान अवसर र जिम्मेवारी प्रदान गर्न सके मात्र समावेशी र दिगो विकास सम्भव हुने उहाँको भनाइ थियो।
महिला बाइक राइडर उदयपुरका संयोजक रमा मगरले महिला सशक्तिकरणका लागि मोटरसाइकल यात्रा सुरु गरिएको जानकारी दिनुभयो। महिलाहरूले मोटरसाइकल चलाउँदा ‘महिलाका लागि स्कुटर मात्र’ भन्ने समाजको सोचलाई चिर्दै महिलाहरू पनि पुरुषसरह सक्षम छन् भन्ने सन्देश दिन यात्राको आयोजना गरिएको उहाँले बताउनुभयो। यस यात्रामा जिल्लाका विभिन्न पालिकाबाट विभिन्न पेशा, व्यवसाय तथा सेवाक्षेत्रमा आबद्ध ५० भन्दा बढी महिला राइडरहरूको सहभागिता रहेको उहाँको भनाइ थियो।
यात्रामा सहभागी जानुका कार्कीका अनुसार विभिन्न क्षेत्रका महिलाहरूको उत्साहजनक सहभागिताले महिलाहरूमा आत्मविश्वास, साहस र एकताको भावना अभिवृद्धि गरेको छ। यात्राका क्रममा महिला अधिकार, शिक्षा, स्वास्थ्य तथा लैङ्गिक समानतासम्बन्धी सन्देशसहित ‘हेलमेटभित्र साहसी महिला’, ‘हामी पछि छैनौँ’ जस्ता प्लेकार्ड सहित यात्रा गरिएको थियो।
यात्राको क्रममा महिला अधिकार, शिक्षा, स्वास्थ्य तथा लैङ्गिक समानतासम्बन्धी जनचेतनामूलक संवाद कार्यक्रमसमेत सञ्चालन गरिएको थियो। चतारा कोशी पुल पुगेर फर्केपछि बेलका नगरपालिका–८ सोमबारेस्थित बेलका बीच रिसोर्टमा स्थानीय अगुवाहरूसँग महिला सशक्तिकरणका विषयमा करिब एक घण्टा अन्तरक्रियात्मक छलफल गरिएको थियो। सो छलफलपछि साँझ महिला राइडरहरूको टोली पुनः गाईघाट फर्किएको थियो।







