रेडियो उदयपुर । उदयपुरमा जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । सोमबार राति गाउँ पसेको हात्तीको समूले मङ्गलबारसम्म गाउँमा आतङ्क मच्चाएको थियो । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका अन्तर्गत विभिन्न वडामा जङ्गली हात्ती पसी १२ घरधुरीमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यलय यदयपुरका अनुसार उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ५ बेलचौरी, वडा नं. ६ मोहनपुर तथा वडा नं. ७ चकलघाटमा स्थानीयका घर तथा भान्साघर भत्काउनुका साथै अन्नपात र खानेपानीको पाइप नष्ट गरेका हुन् । हात्तीको आक्रमणबाट करिब १ लाख ४० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले जानकारी दिनुभयो । वडा नं. ५ बेलचौरीमा ३७ बर्षिय रेवती सदा को १० हजार, ४१ बर्षिय बृहस्पती सदाको ५ हजार, ६४ बर्षिय विजय सदाको २ हजार, ७७ बर्षिय गणेश बहादुर बुढाथोकीको १ हजार, ५० बर्षिय रुद्र पोखरेलको ५ हजार, ४५ बर्षिय विष्णु भुजेलको १ हजार र ४६ बर्षिय मनकुमारी राईको ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । यस्तै, त्रियुगा नगरपालिका वडा नं. ६ मोहनपुरमा ५५ बर्षिय बिन्दा परियारको २० हजार रुपैयाँ बराबरको क्षति भएको छ । पुस ९ गते त्रियुगा नगरपालिका वडा नं. ७ चकलघाटमा जङ्गली हात्ती पसी ७८ बर्षिय नर्बदा कार्कीको ८ हजार, ४९ बर्षिय मान बहादुर विकको १२ हजार, ४३ बर्षिय गंगा माया कार्कीको १० हजार र ५२ बर्षिय राजन कार्कीको १६ हजार रुपैयाँ बराबरको क्षति पुगेको छ । तीनै स्थानमा आएका जङ्गली हात्तीलाई नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा जङ्गलतर्फ लखेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।





