संविधान दिवसको अवसरमा ट्राफिक प्रहरीलाई चस्मा वितरण

0
30

रेडियो उदयपुर, २०८२ असोज ३ गते, शुक्रबार । संविधान दिवसको अवसरमा उदयपुरका ट्राफिक प्रहरीलाई आज चस्मा वितरण गरिएको छ। सडकमै खटिनुपर्ने भएकाले धुलो–मैलोबाट आँखा जोगाउन सहज होस् भन्ने उद्देश्यले नेपाल नेत्र ज्योति संघ, उदयपुरले चस्मा वितरण गरेको हो। गाईघाटस्थित पूर्व–पश्चिम बसपार्कमा रहेको जिल्ला ट्राफिक कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेल, सुरक्षासंस्थाका प्रमुखहरू, जिल्ला प्रहरी कार्यालयका अधिकारीहरूको उपस्थितिमा संघका अध्यक्ष तथा नेकपा एमाले उदयपुरका अध्यक्ष भागवत राउतले ट्राफिक प्रहरीलाई चस्मा वितरण गर्नुभयो। अध्यक्ष राउतले आगामी दिनमा फिल्डमा खटिने सक्रिय पत्रकारहरूलाई पनि चस्मा वितरण गरिने जानकारी दिनुभयो। चस्मा वितरण गरेकोमा प्रमुख जिल्ला अधिकारी लुइटेलले नेपाल नेत्र ज्योति संघप्रति धन्यवाद व्यक्त गर्नुभयो। संघले नियमित रूपमा आँखा शिविर सञ्चालन गर्दै विद्यार्थी, बालबालिका र वृद्धवृद्धाहरूको आँखा परीक्षण, उपचार र शल्यक्रियासहितको सेवा प्रदान गर्दै आएको छ । साथै औषधि र चस्मा निःशुल्क वितरण गर्दै आएको जनाएको छ ।