रेडियो उदयपुर, २०८२ भदौ ३१ गते, मंगलबार । मुलुकभर भदौ २३ र २४ गते जेन–जी पुस्ताका युवाहरुले गरेको विरोध प्रदर्शनमा राज्यपक्षको अत्यधिक बल प्रयोगका कारण राजधानीसहित विभिन्न जिल्लामा सर्वसाधारण नागरिक र सुरक्षाकर्मीको ज्यान गएको र हजारभन्दा बढी घाइते भएका छन्। मानवअधिकारकर्मीहरुले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई राहत र क्षतिपूर्ति दिने सरकारको निर्णयको कदर गरेका छन् र घाइतेहरुको निःशुल्क उपचार सुनिश्चित गर्न माग गरेका छन्।
उदयपुरमा भएको आन्दोलनमा समेत ठूलो क्षति भएको छ। यस क्रममा कोशी प्रदेश उपसभामुख सिर्जना दनुवार, त्रियुगा नगर प्रमुख बसन्त बस्नेत, उप–प्रमुख महेश्वरी राई, पूर्वप्रमुख बलदेव चौधरी र वडा नं. ११ का अध्यक्ष सुमन्त कोइरालाको निजी घरमा तोडफोड र आगजनी भएको छ। त्यस्तै अभियान्ता नजबुल खानको मोटरसाइकलमा आगजनी, रेडक्रस सभापति शम्भु पौडेलको घरमा तोडफोड, विभिन्न नगरपालिकाका कार्यालय, वडा नं. ११ को वडा कार्यालय, प्रमुख राजनीतिक दलका कार्यालय, जिल्ला प्रशासन कार्यालय बोक्से, बार एसोसिएसन भवन, जिल्ला प्रहरी कार्यालय लगायत सरकारी र व्यापारिक स्थानमा तोडफोड, आगजनी र लुटपाट भएकोप्रति घोर निन्दा व्यक्त गरिएको छ। मानवअधिकारकर्मीहरुले घटनामा संलग्नको खोजी गरी कडा कारबाही गर्न, पीडितलाई क्षतिपूर्ति दिलाउन र समाजमा असुरक्षा अन्त्य गर्न जोडदार माग गरेका छन्। साथै युवा पुस्ताले उठाएको भ्रष्टाचारमुक्त समाज, विधिमा आधारित सुशासन र राजनीतिमा पुस्तान्तरणको मागप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै, आन्दोलनका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न सरकारलाई आग्रह गरेका छन्।
यसैबीच, नेपालको पहिलो महिला प्रधानमन्त्री बन्न सफल सुशीला कार्कीलाई बधाई दिँदै उनको नेतृत्व देशमा सुशासन, सामाजिक न्याय र लोकतन्त्र प्रवद्र्धनमा उदाहरणीय बन्ने विश्वास व्यक्त गरिएको छ। अन्तरिम सरकारलाई सफल बनाउन सबै पक्षलाई सहयोग गर्न अपिल समेत गरिएको छ। अपिलमा सहमति जनाउने संस्थाहरुमा गैरसरकारी संस्था उदयपुर, राष्ट्रिय महिला मानव अधिकार रक्षक सञ्जाल, महिला पुनःस्थापना केन्द्र (ओरेक) उदयपुर, महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुर, मानव अधिकारका लागि महिला एकल महिला जिल्ला समूह, महिला मानव अधिकार रक्षक सञ्जाल उदयपुर, फेडा उदयपुर, युवा महिला सञ्जाल रहेका छन् ।






