Wednesday, July 22, 2026
Homeप्रमुख समाचारउदयपुरमा ८१ वर्षीया वृद्धालाई पहिलोपटक नागरिकता

उदयपुरमा ८१ वर्षीया वृद्धालाई पहिलोपटक नागरिकता

रेडियो उदयपुर,साउन १६ । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ की ८१ वर्षीया कालमाया राईले ८१ वर्षको उमेरमा पहिलोपटक नागरिकता प्राप्त गर्नुभएको छ। जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलबाट उहाँले वंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र पाउनुभएको हो।
प्रजिअ लुइटेलका अनुसार, “७० वर्षदेखि पाउनुपर्ने जेष्ठ नागरिक भत्ताबाट बञ्चित ८१ वर्षीया वृद्धा नागरिकता विहिन रहेको सूचना प्राप्त भएपछि सम्बन्धित जनप्रतिनिधिसँग समन्वय गरियो। स्थानीय वडाध्यक्ष र बासिन्दाबाट नेपाली नागरिक ठहर भएपछि नागरिकता प्रदान गरिएको हो।”
२००१ साल वैशाख १ गते खोटाङको जन्तेढुंगा गाउँपालिका–२ मा जन्मनु भएकी राई विवाहपश्चात उदयपुरमा बस्दै आउनुभएको थियो। यद्यपि, व्यक्तिगत पहल गर्न नसक्ने अवस्था र परिवारबाट सहयोग नपाएकै कारण उहाँ अहिलेसम्म नागरिकता बिना बसिरहनुभएको वडाध्यक्ष लुङ्गाराज राईले जानकारी दिनुभयो।
स्थानीय वडाकार्यालय, जनप्रतिनिधि, प्रशासन र समुदायको सहकार्यमा उहाँले नागरिकता प्राप्त गर्नुभएको हो। नागरिकता पाएपछि उहाँको राष्ट्रिय परिचयपत्र नम्बर पनि जारी गरिएको छ भने वृद्धभत्ताको प्रक्रियासमेत अघि बढाइएको छ।
तीन छोरा र दुई छोरीकी आमा कालमायाका श्रीमान्को पहिल्यै स्वर्गारोहण भइसकेको छ। आर्थिक अवस्था कमजोर रहेको उहाँले नागरिकता पाउनु निकै ठूलो कुरा भएको भन्दै हर्ष व्यक्त गर्नुभयो। “नागरिकता पाउनु ठूलो कुरा रहेछ,” उहाँले भन्नुभयो।
यो घटनालाई सम्भवतः जिल्लाकै सबैभन्दा वृद्ध उमेरमा पहिलोपटक नागरिकता पाउने उदाहरणका रूपमा लिइएको छ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular