उदयपुर । एकल महिलाका कृयाकलापमा सघाउ पुर्याउन प्रदेश र स्थानीय सरकारको सहयोगमा उदयपुरको सदरमुकाम गाईघाटमा सुपथ मुल्य पसल सञ्चालमा ल्याइएको छ ।
कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, त्रियुगा नगरपालिका, गाईघाट एकल महिला समुह र वडानं ११ को सहकार्यमा ७ लाख ३७ हजार ५ सयको लागतमा खाद्यान्न तथा किरानाको सुपथ मुल्य पसल सञ्चालनमा ल्याइएको हो ।
पसल व्यवस्थापक तथा अध्यक्ष सानुमैया कार्कीका अनुसार मन्त्रालयले उपलब्ध गराएको ५ लाख मध्ये ३ लाख ५० हजार, नगरपालिकाको २ लाख र गाईघाट एकल महिला समुहको १ लाख ८७ हजार ५ सय बिउँ पुजीँकोरुपमा रहने छ । बाँकी मन्त्रालयले उपलब्ध गराएको १ लाख ५० हजार उद्यमशिलता तालिम सञ्चालन गरी उद्यमी उत्पादन गरिएको उनले बताईन् ।
सुपथ मुल्य पसलको उद्घाटन गर्दै कोसी प्रदेशका उपसभामुख सृजना दनुवारले एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण सकारात्मक नभईरहेको अवश्थामा यस्ता कृयाकलापले थोरै भएपनि आर्थिक समृद्धीको यात्रामा सघाउ पुर्याउने बताईन् ।
उनले भनिन्, ‘अहिले पनि एकल महिलालाई विभिन्न लाल्छना लगाएर चौघेरामा राख्ने र केहि गर्न नदिने परम्परा र संस्कार छ, त्यसले अझ उनीहरु आर्थिकरुपले विछिप्त छन्, यसलाई सघाउ पुर्याउन उद्यमी र व्यवसायि बनाउन जरुर छ ।
मुलुक परिवर्तनका लागि विभिन्न कालखण्डमा ज्यान गुमाएका महानपुरुषको स्मरण गर्दै उनले भनिन्, ‘घरको गर्जो टार्ने अभिभावक समय नपुग्दै गुमाउनु पर्यो, केहि गरौ भन्दा समाजले देखिसक्दैन, त्यसैले जुन पसल सञ्चालन गर्ने तपाईहरुले क्रान्तिकारी हिम्मत गर्नु भएको छ, म सम्मान गर्न चाहान्छु ।
प्रदेश सांसद गितादेवी रेग्मीले एकल महिलाको जीवन स्तर उकास्ने गरी सिप विकास र आयआर्जनका कार्यक्रम ल्याउनु पर्ने बताईन् । उनले भनिन्, ‘यो तपाईहरुले गरेको एउटा क्रान्तिकारी कदम हो, अव तपाईहरु एक्लै छु भन्ने कहिले फिल नगर्नुस तपाईहरुको साथमा सधै हामी छौ ।
त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राईले संस्कारीलो समाज निर्माण नभएसम्म एकल महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसक्ने बताईन् । उनले एकल महिलाको अहिलेको आवश्यकता भनेकै आयआर्जन बृद्धी भएकाले एकल महिला प्रर्वद्धनात्मक कार्यक्रम सञ्चालन गर्न नगरपालिका तयार रहेको बताईन् । कार्यक्रममा वडाध्यक्ष सुमन्त कोईराला, नेकपा एमालेका अध्यक्ष परमेश्वर घिमिरे, गैसस महासंघका अध्यक्ष सृजना पौडे्ल लगायतले बोलेका थिए ।
त्रियुगा नगरपालिका वडानं ११ स्थित एकल महिला समुहमा आवद्ध रहेकाहरुको व्यवसायतर्फको आकर्षण बढाउन र आर्थिक स्तरमा सुधार ल्याउने उदेश्यले सरकारसँगको साझेदारीमा सुपथ मुल्य पसल सञ्चालमा ल्याइएको एकल महिला जिल्ला सञ्जालका अध्यक्ष शोभा दाहालले बताईन् ।
उनका अनुसार तरकारी बजार क्षेत्रमा सञ्चालनमा ल्याइएको पसलमा दैनिक उपभोग्य सामग्रीहरु राखिएका छन् । ‘अन्य पसलको तुलनामा सामग्रीहरु सस्तो र सुपथ मुल्यमा पाईने छ, उनले भनिन्, ‘हामीले खरिद गरेको मुल्यको निश्चत प्रतिशत मुनाफा राखेर सामानहरु उपभोक्तालाई उपलब्ध गराउँछौ ।
कम्प्युटर प्रणालीमा स्रेस्ता राखिएको पसलमा दुई जना कर्मचारी रहनेछन् । यसबाट आएको आम्दानीले एकल महिलाकै आयस्तर बृद्धी हुने अन्य कार्यक्रमहरु सञ्चालन गरिने अध्यक्ष दाहालले बताईन् । मन्त्रालयले उपलब्ध गराएको ३ लाख ५० हजार बिउँ पुजिँ तीन बर्षपछि अर्को वडाका एकल महिलाका गतिविधिमा उपलब्ध गराईने बताईन् ।
व्यवस्थापक कार्कीका अनुसार वडा कार्यलयबाट पसल घेराबेरामा एक लाख सहयोग र चार बर्षसम्म सटरको भाँडा निःशुल्क उपलब्ध हुने प्रतिबद्धता रहेको छ । उनले पसलको निरन्तरतासँगै उपभोक्ताले खोजेअनुसारको सामग्रीहरु उपलब्ध गराउने गरी व्यवसायलाई बृद्धी गरिने बताईन् ।