त्रियुगामा निःशुल्क एम्बुलेन्स सेवा

0
294

उदयपुर। त्रियुगा नगरपालिकाले कोभिड–१९ (कोरोना भाइरस) को आशंका देखिएका बिरामीलाई अस्पतालसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । मंगलबार जिल्ला स्वास्थ्य कार्यालयमा बसेको बैठकले त्रियुगा नगरपालिका क्षेत्र भित्रका कोरोना संक्रमित विरामीको लागि ३ वटा एम्बुलेन्स निःशुल्क उपलब्ध गराउने भएको छ ।

नगरपालिकाले कोरोना भाइरसबाट जोगिन प्रोटेक्टीभ इक्युपमेन्ट सहितको चालकहरुका लागि बिशेष प्रकारको पोषाक पर्सनल प्रोटेक्टीभ इक्युपमेन्ट (पिपिइ) उपलब्ध गराउने त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले जानकारी दिए ।

त्रियुगा नगरपालिका भित्र ५ ठाउँमा हेल्थ डेक्स राख्ने भएको छ । त्रियुगा नगरपालिका वडा नं. २ जोगिदह, वडा नं. ६ लालपत्ता, वडा नं. ७ चुहाडे, वडा नं. १३ नं. बहेडवा र वडा नं. १४ साउनेमा तापक्रम नाप्ने थर्मल गन सहितको हेल्थ डेक्स राख्ने मेयर चौधरीले बताए । उनका अनुसार कोरोना भाइरसबाट जोगिन प्रोटेक्टीभ इक्युपमेन्ट सहितको जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरुका लागि २ वटा बिशेष प्रकारको पोषाक पर्सनल प्रोटेक्टीभ इक्युपमेन्ट (पिपिइ) उपलब्ध गराउने समेत जानकारी दिए ।

नगरपालिकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र भीडभाड हुने ठाउँमा नजान सबै नागरिकलाई आह्वान समेत गरेको छ । नगरपालिकाले स्वास्थ्य अवस्थाबारे सचेत रहन, व्यक्तिगत सरसफाइमा ध्यान दिन, भीडभाडमा नजान, अत्यावश्यक कामबाहेक सकेसम्म घरभित्रै रहन तथा रोगथामका उपाय अवलम्बन गर्न र कुनै लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्था वा नगरपालिकामा सम्पर्क राख्न अपिल गरेको छ ।
अहिले स.१ च १८२५ नम्बरको एम्बुलेन्स तयारी अवस्थामा रहेको छ भने तत्काल कोरोनाको आशंका लागेमा उपचार वा एम्बुलेन्सको लागि अबधनारायण चौधरीको मोबाइल नं. ९८५२८३५३७७ मा सम्पर्क गरिन सकिने नगरपालिकाले जनाएको छ ।