उर्मिला दनुवार
उदयपुर, कात्तिक १६
दनुवार समुदायको राष्ट्रिय पर्व न्वाङ्गी तथा तेस्रो दनुवारी खाना परिकार एवं सांस्कृतिक उत्सव २०८३ आगामी मंसिर २५ देखि २७ गतेसम्म आयोजना हुने भएको छ। त्रियुगा नगरपालिका–८ स्थित बैरेनी चौरमा तीन दिनसम्म चल्ने उत्सवमा दनुवार समुदायको मौलिक संस्कृति, परम्परा र खानाका परिकार प्रदर्शन गरिने जनाइएको छ।
उत्सवलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्ने उद्देश्यले आइतबार त्रियुगा नगरपालिका–८ बैरेनीस्थित दनुवार सामुदायिक भवनमा बसेको तयारी बैठकले विभिन्न विषयमा छलफल गर्दै आवश्यक निर्णयहरु समेत गरेको छ । बैठकले दनुवार जागरण समिति जिल्ला कार्यसमिति उदयपुरका अध्यक्ष कृष्णराज दनुवारको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ। उत्सवको तयारी तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न उपसमितिसमेत गठन गरिएको छ। साथै, दनुवार सांस्कृतिक संग्रहालय स्थापना र मतदाता नामावली अद्यावधिक अभियान सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ।
उत्सवको तयारी तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन बैठकले विभिन्न उपसमिति गठन गरेको छ। जसअनुसार आर्थिक समितिको संयोजकमा जीवस दनुवार, प्रचारप्रसार समितिको संयोजकमा उर्मिला दनुवार, सांस्कृतिक व्यवस्थापन समितिको संयोजकमा रविन दनुवार, व्यवस्थापन समितिको संयोजकमा गुणराज दनुवार तथा युवा परिचालन तथा व्यवस्थापन समितिको संयोजकमा किरण दनुवारलाई जिम्मेवारी दिइएको छ।
दनुवार समुदायको भाषा, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले दनुवार सांस्कृतिक संग्रहालय स्थापना गर्ने प्रक्रिया अघि बढाइने भएको छ। संग्रहालय स्थापनाका लागि अवधारणापत्र र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने जिम्मेवारी दनुवार सांस्कृतिक संग्रहालय व्यवस्थापन तथा सञ्चालन समितिका संयोजक अनन्तकुमार दनुवारलगायतको समितिलाई दिने निर्णय गरिएको छ।
त्यस्तै, दनुवार समुदायका मतदाता नामावलीमा नाम दर्ता हुन बाँकी रहेका नागरिकको नयाँ नाम दर्ता तथा नामावली अद्यावधिक गर्न समुदायस्तरमै अभियान सञ्चालन गरिने भएको छ। अभियानअन्तर्गत गाउँबस्तीमै अनलाइन फाराम भर्ने व्यवस्था मिलाउनुका साथै बायोमेट्रिक विवरण दिनुपर्ने नागरिकलाई जिल्ला निर्वाचन कार्यालयसम्म पुग्न यातायातको व्यवस्था गरिने भएको छ ।
बैठकमा नेपाल दनुवार समाज उदयपुर, दनुवार महिला समाज सुधार संघ उदयपुर, दनुवार जागरण कोशी प्रदेश, दनुवार जागरण समिति उदयपुर, महिला सशक्तीकरण स्रोत केन्द्र उदयपुर, साधना सांस्कृतिक कला समूह, आदिम चौतारीलगायत संस्थाका प्रतिनिधि तथा दनुवार समुदायको सामाजिक र आर्थिक क्षेत्रमा योगदान पु¥याउँदै आएका समाजसेवी र बुद्धिजीवीहरूको सहभागिता रहेको थियो।
उत्सवको तयारीलाई थप व्यवस्थित बनाउन मूल आयोजक समिति र विभिन्न कार्यक्रमका संयोजकहरूको बैठक आगामी कात्तिक ३० गते बस्ने नेपाल दनुवार समाज उदयपुरका अध्यक्ष केदार दनुवारले जानकारी दिनुभएको छ।






