उदयपुर,१३ कात्तिक २०८३ । उदयपुरमा पछिल्लो तीन महिनामा लैङ्गिक हिंसाका ३५ वटा घटना अभिलेखीकरण भएका छन्। महिला पुनःस्थापना केन्द्र (ओरेक) उदयपुरले जुलाईदेखि सेप्टेम्बर २०२६ सम्मको तथ्याङ्क सार्वजनिक गर्दै अधिकांश महिला घरेलु हिंसा भोग्न बाध्य रहेको जनाएको हो।

ओरेक उदयपुरका संयोजक बाला कार्कीका अनुसार अभिलेखीकरण गरिएका घटनामध्ये २९ वटा घरेलु हिंसा, तीनवटा यौन हिंसा, दुईवटा सामाजिक हिंसा र एउटा अन्य प्रकृतिको हिंसाको घटना रहेका छन्।

घरेलु हिंसाअन्तर्गत विभिन्न स्वरूपका हिंसा हुने गरेको तथ्याङ्कले देखाएको छ। जसअनुसार २३ वटा शारीरिक हिंसा, ३२ वटा गालीगलौज, २८ वटा स्रोतसाधनबाट वञ्चित गरिएका घटना, १७ वटा चरित्रमाथि आरोप लगाइएका घटना, एउटा मानसिक यातना र एउटा बहुविवाहको घटना अभिलेखीकरण गरिएको छ। एउटै घटनामा एकभन्दा बढी प्रकारका हिंसा हुने भएकाले घरेलु हिंसाका विभिन्न स्वरूपको सङ्ख्या कुल घटनाभन्दा बढी देखिएको हो।

ओरेकले आफ्नो कार्यालयमा प्रत्यक्ष रूपमा आएका, सुरक्षा आवासबाट सेवा लिएका महिला तथा किशोरी र समुदाय एवं फिल्डस्तरबाट प्राप्त विवरणका आधारमा त्रैमासिक विश्लेषण गरेको जनाएको छ। प्रेस विज्ञप्तिमा पछिल्लो समय उदयपुरमा महिलामाथि हिंसा गरी हत्या गरिएका घटनाले महिला सुरक्षाको चुनौती र घरेलु हिंसाको गम्भीर अवस्थालाई उजागर गरेको उल्लेख छ।

संयोजक कार्कीका अनुसार महिलाहरू शारीरिक हिंसाको सिकार हुनुका साथै आधारभूत आवश्यकता र स्रोतसाधनबाट समेत वञ्चित हुनुपरेको छ। पितृसत्तात्मक सोच, सामाजिक लाञ्छना र प्रतिष्ठाको दबाबका कारण कतिपय महिला घरभित्रै हुने हिंसा सहेर बस्न बाध्य रहेको विज्ञप्तिमा जनाइएको छ।