उदयपुर,१३ कात्तिक २०८३ । उदयपुरको गाईघाट बजारमा मध्यराति आगलागी हुँदा सेकुवा होटलसहित दुईवटा खाजा घर जलेर नष्ट भएका छन्। आगलागीबाट १० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ।

त्रियुगा नगरपालिका–११ स्थित असारी लाइनको निलो पुल क्षेत्रमा रहेको ‘बाबु सेकुवा होटल’ र त्यससँगै जोडिएको खाजा घरमा बिहीबार मध्यराति आगलागी भएको हो।

वीरबहादुर मगरले सञ्चालन गर्दै आएको सेकुवा होटलमा आगलागी भएको सूचना प्रहरीले राति पौने १२ बजे प्राप्त गरेको थियो। प्रहरी घटनास्थल पुग्दा होटलको आधाभन्दा बढी भाग जलिसकेको थियो।

ब्लकको गारो र टिनको छाना भएको टहरामा सञ्चालित होटलमा आगलागी हुँदा फ्रिज, फर्निचर, भाँडाकुँडा, काउन्टरलगायतका सामग्री जलेर नष्ट भएका छन्।

मध्यराति अज्ञात वस्तु पड्किएको आवाज सुनेर ब्युँझिएका स्थानीयले नजिकै आगोको लप्का र धुवाँको मुस्लो देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचनापछि खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालयबाट थप जनशक्ति र दमकल बोलाएर आगो निभाएको थियो।

प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा करिब डेढ घण्टापछि राति साढे १ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए।

प्रहरी उद्धारका लागि घटनास्थल पुगे पनि होटल सञ्चालकले पसलमा ताल्चा लगाएर घरमा सुत्न गएकाले भित्र रहेका सामग्री निकाल्न नसकिएको खड्काले बताए।

आगलागीबाट होटल रहेको टहराको अर्को कोठामा सञ्चालित मासु पसल र होटलसँगै जोडिएको अर्को खाजा घरसमेत जलेर नष्ट भएका छन्। मासु पसल वीरबहादुर मगरकै रहेको र छिमेकी खाजा घर दुतराज मगरको भएको प्रहरीले जनाएको छ।