उदयपुर २०८३ असोज २५ । ‘बालविवाह अन्त्य गरौँ र बालिकाको अधिकारमा लगानी गरौँ!’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय बालिका दिवस मनाइएको छ। हरेक वर्ष अक्टोबर ११ मा मनाइने यस दिवसको मुख्य उद्देश्य बालिकामाथि हुने विभेद, हिंसा, शोषण र बालविवाहको अन्त्य गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्नु हो।

यसै अवसरमा उदयपुरमा पनि महिला सशक्तीकरण स्रोत केन्द्रको आयोजनामा त्रियुगा नगरपालिका वडा नम्बर ८ र ९ का किशोरीहरूलाई सहभागी गराएर दिवस मनाइएको छ। कार्यक्रममा सहभागी किशोरीहरूलाई आफूलाई मनमा लागेका कुरा व्यक्त गर्न तथा चित्रमार्फत आफ्ना भावना, सोचाइ र अनुभव प्रस्तुत गर्न लगाइएको थियो। यस गतिविधिमार्फत किशोरीहरूले आफ्ना विचार खुलेर राख्ने, आफूले भोगेका समस्या तथा चुनौती व्यक्त गर्ने र आफ्ना अधिकारबारे छलफल गर्ने अवसर पाएका थिए।

बालिकाका आवाज, विचार र आवश्यकतालाई प्राथमिकता दिँदै उनीहरूलाई आफ्ना अधिकारप्रति सचेत बनाउने तथा निर्णय प्रक्रियामा सहभागी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महिला सशक्तीकरण स्रोत केन्द्रका कार्यक्रम संयोजक सुजाता सुवेदीले बताउनुभयो। उहाँका अनुसार यस्ता कार्यक्रमले बालिकाले भोगिरहेका समस्या पहिचान गर्नुका साथै उनीहरूको आत्मविश्वास, सिर्जनशीलता र नेतृत्व क्षमताको विकासमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१२ देखि मनाउन थालिएको अन्तर्राष्ट्रिय बालिका दिवसले बालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र समान अवसर सुनिश्चित गर्नुपर्ने आवश्यकतामा जोड दिँदै आएको छ।