उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका भित्रका थारु युवा महिलाहरुलाई सामा चकेवा निमार्ण सम्बन्धी प्रशिक्षण दिइएको छ । महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरको आयोजना र फिमीको सहयोगमा दुई दिने प्रशिक्षण तालिम दिइएको हो ।
थारु समुदायमा लोप हुन लागेको मौलिक संस्कृति संरक्षण गर्न मद्धत पुग्ने उद्धेश्यले तालिमको आयोजना गरिएको महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरका कार्यकारी निर्देशक बन्दना दनुवारले बताउनुभयो । यस तालिमले परम्परागत रुपमा रहेको मौलिक संस्कृति संरक्षण संगै युवा महिलाहरुमा सिप हस्तान्तरण समेत भएको बताउनुभयो ।
थारु कल्याणकारणी सभा उदयपुरका उपसभापती एवम् त्रियुगा नगरपालिकाका निर्वतमान उपमेयर देवि चौधरीको प्रमुख आतिथ्यतामा तालिमको समापन भएको थियो । कार्यक्रममा उहाँले थारु युवा महिलाहरुलाई आफनो परम्परागत सस्कृतिहरुलाई जर्गेना गर्दै शिप क्षमता अभिबृद्धि गर्न आग्रह गर्नुभयो ।
उहाँले नेतृत्व विकास गरि आफनो पहिचान स्थापित गर्न अग्रसर हुन आग्रह गर्नुभयो । कार्यक्रममा त्रियुगा नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष राजकुमार राउतले कला सस्ंकृति संरक्षणमा आफनो पहल सधै रहने बताउनुभयो ।
थारु कल्याणकारणी सभा पुर्व केन्द्रिय उपाअध्यक्ष एवम् थारु नेतृ रामबती चौधरीले युवा महिलाहरुलाई सामा सचेवा निमार्णको लागि प्रशिक्षण दिनुभएको थियो ।
२० जना सहभागी रहेको दुई दिने सामा चकेवा निमार्ण प्रशिक्षण कार्यक्रम त्रियुगा नगरपालिका वडा नम्वर ८ उत्तराईटोल देउरीमा १५ गते मंगलवार सम्पन्न भएको थियो ।