उदयपुरमा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु

0
271

राजावास । उदयपुरमा १६ दिने लैँगिक हिंसा बिरुद्धको अभियान आजदेखी सुरु गरिएको छ । बिभिन्न लैँगिक हिंसा सम्बन्धि कार्यक्रमहरु सँगै अभियान १६ दिन सम्म मनाईने भएको छ ।

‘लैगिंक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता भन्ने मुलनाराका साथ १६ दिनसम्म सञ्चालन हुने उक्त अभियानको उद्घाटन बुधबार जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर दर्नालले गर्नुभयो ।

ओरेक नेपालको रजत स्तम्भमा दिपपज्वलन गरी उद्घाटन कार्यक्रमको भव्य उद्घाटन भएको छ । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म देशैभर विभिन्न कार्यक्रमको आयोजना गरि अभियान संचालन गरिन्छ ।

अभियानको उद्घाटन गर्दै प्रमुख दर्नालले लिंगका आधारमा गरिने विभेद्ले समाज र राष्ट्रलाई नै कुरुप बनाएको बताए । उनले लैङ्गिक हिंसा मुक्त समुन्नत समाज निर्माण गरी राष्ट्रलाई नै सभ्य र सुसंस्कारयुक्त बनाउनु पर्नेमा जोड दिनुभयो ।

सबै किसिमका विभेद र असमानता हटाउनु पर्नेमा जोड दिँदै उनले हिंसा, विभेद, कुरीति, अन्धविश्वास अन्त्य गर्दै समानताको बाटोमा अघि बढ्न सबैलाई आग्रह गरे । सोही अवसरमा जिल्लामा १६ दिनसम्म सञ्चालन हुने कार्यक्रमसमेत ओरेक नेपालका जिल्ला संयोजक सुनिता मैनालीले सार्वजानिक गर्नुभएको थियो ।

 

यस वर्ष कोभिड १९ को महामारीका कारण भौतिक रूपमा कार्यक्रम सञ्चालन गर्न सम्भव नभए पनि प्रविधिको माध्यमबाट आ(आफ्नो स्थानबाट सुरक्षित रहँदै विभिन्न कार्यक्रमहरू सहित १६ दिने अभियानलाई सञ्चालन गरिने जिल्ला समन्वय समितिका उपप्रमुख गंगा राईले बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यलय उदयपुरका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे,जिल्ला प्रहरी कार्यलय उदयपुरका एसपी भिम बहादुर दहाल,महिला अधिकारकर्मी,महिला युवाहरु,संचारकर्मी लगाएतको उपस्थिीती रहेको थियो ।