उदयपुर । छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिइएको छ । हिजो आइतवार बेलुका अस्ताउँदो सूर्यलाई अघ्र्य दिएपछि रातभर जागा बसेका ब्रतालुहरुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि ब्रत पूरा भएको छ ।
छठ मनाउँदै गरिएका नदी, पोखरी तथा जलाशय किनारमा व्रतालुहरुको घुईंचो छ । छठ पर्वका अवसरमा नदी, पोखरी तथा जलाशयका किनार सिंगारेर झकिझकाउ बनाइएको छ ।
छठलाई सत्य, अहिंसा, शुद्धता, आस्था र प्रकृतिप्रतिको सम्मानको प्रतीकका रूपमा लिइन्छ । यस पर्वमा सूर्यदेव र छठी माताको पूजा गरी परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गरिन्छ ।
उदयपुरमा विशेषगरी त्रियुगा, तावा, कमला नदी, द्वारखोला र गिदेरीगंगा लगायतका नदी तथा जलाशयका किनारमा छठ पूजा गर्ने परम्परा छ। उदयपुरमा छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्वसँगै यसको सामाजिक विस्तार पनि बढ्दै गएको छ।
विगतमा विशेषगरी मिथिला क्षेत्रमा धुमधामका साथ मनाइने छठ पर्व पछिल्लो समय उदयपुरलगायत पहाडी तथा हिमाली क्षेत्रका विभिन्न समुदायमा समेत लोकप्रिय बन्दै गएको छ।






