उदयपुर । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्व अस्ति शुक्रबारदेखि शुरु भएको हो । छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ ।
दोस्रो दिन सखर हालेर बनाइएको खीर खरना षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन आज निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिने गरिन्छ ।
षष्ठी अर्थात आजको दिन रातभर जागा बसी भोलि कात्तिक शुक्ल सप्तमीको बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ ।
उदयपुरमा विशेषगरी त्रियुगा, तावा, कमला नदी, द्वारखोला र गिदेरीगंगा लगायतका नदी तथा जलाशयका किनारमा छठ पूजा गर्ने परम्परा छ। उदयपुरमा छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्वसँगै यसको सामाजिक विस्तार पनि बढ्दै गएको छ।
विगतमा विशेषगरी मिथिला क्षेत्रमा धुमधामका साथ मनाइने छठ पर्व पछिल्लो समय उदयपुरलगायत पहाडी तथा हिमाली क्षेत्रका विभिन्न समुदायमा समेत लोकप्रिय बन्दै गएको छ।





