उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० खैराझोरास्थित मदन भण्डारी लोकमार्गमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा २२ वर्षीय युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा धनकुटा नगरपालिका–५ निवासी अन्दाजी २२ वर्षीय रोजन परियार रहेका छन् ।
शनिबार दिउँसो पौने १ बजे गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको प्रदेश ०२–०६० प ८७११ नम्बरको मोटरसाइकल र बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको ना ७ त ५३२५ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका परियारलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल गाईघाट पु¥याइएको थियो । उपचारकै क्रममा दिउँसो २ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
मृतकको शव जिल्ला अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ । उनका आफन्तको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी गणेश बमले जानकारी दिए । दुर्घटनामा संलग्न ट्याक्टर चालक चौदण्डीगढी नगरपालिका–१० निवासी २६ वर्षीय शोभितमान बस्नेत र दुवै सवारीसाधन इलाका प्रहरी कार्यालय बेल्टारको नियन्त्रणमा रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





