उदयपुरमा ‘सुरक्षित डिजिटल अभियान’ सञ्चालन हुँदै, अनलाइन हिंसा न्यूनीकरणमा जोड

0
22

उदयपुर, जेठ १३ गते । उदयपुरमा किशोरी तथा महिलामाथि हुने अनलाइन हिंसा, साइबर दुव्र्यवहार र डिजिटल अपराध न्यूनीकरण गर्ने उद्देश्यले ‘सुरक्षित डिजिटल अभियान’ सञ्चालन गरिने भएको छ । अभियानको औपचारिक शुभारम्भ आगामी जेठ १६ गते रेडियो उदयपुरको बाषिृक उत्सबको अबसर पारेर गरिने भएको हो । अभियान सञ्चालनको तयारीस्वरूप मंगलबार जिल्ला प्रहरी कार्यालय उदयपुरको सभाहलमा सरोकारवाला निकायबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुर र महिला सशक्तीकरण स्रोत केन्द्र उदयपुरको संयुक्त आयोजनामा भएको कार्यक्रममा स्थानीय तह, पत्रकार, विभिन्न संघसंस्था तथा सरोकारवालाको सहभागिता रहेको थियो ।
कार्यक्रममा महिला सशक्तीकरण स्रोत केन्द्र उदयपुरका कार्यकारी निर्देशक वन्दना दनुवारले सामाजिक सञ्जाल तथा डिजिटल माध्यमको प्रयोग बढेसँगै किशोरी तथा महिलामाथि हुने अनलाइन हिंसा, धम्की, चरित्र हत्या, गोपनीयता उल्लंघन तथा साइबर अपराधका घटना बढ्दै गएको बताउनु भयो । उहाले यस्ता घटनाको रोकथामका लागि समुदायस्तरमै सचेतना आवश्यक रहेको उल्लेख गर्दै विद्यालयस्तरीय सचेतना कार्यक्रम, समुदायमा आधारित छलफल, जनचेतनामूलक रेडियो नाटक ‘सुनौलो पाइला’ उत्पादन तथा प्रसारण, गरिदै आएको पनि जानकारी जानकारी दिनु भयो ।

यसैबीच जिल्ला प्रहरी कार्यलयको तथ्यांकअनुसार सामाजिक सञ्जाल तथा डिजिटल माध्यमसम्बन्धी अपराधका घटनामा पछिल्ला वर्षहरूमा वृद्धि देखिएको छ । फेसबुक, टिकटक, इमो आईडी लगायत सामाजिक सञ्जालसम्बन्धी अपराधका निवेदन आर्थिक वर्ष २०८०÷०८१ मा ५३, आर्थिक वर्ष २०८१÷०८२ मा ४५ र आर्थिक वर्ष २०८२÷०८३ मा हालसम्म ५३ वटा प्राप्त भएका छन् । त्यसमध्ये क्रमशः १, ३ र १ वटा मुद्दा दर्ता गरिएको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी ह्वाट्सएप, इसेवा, खल्ती तथा फोन पे लगायत डिजिटल भुक्तानी र सञ्चार माध्यमसम्बन्धी अपराधका उजुरी पनि उल्लेख्य रूपमा बढेका छन् । आर्थिक वर्ष २०८०÷०८१ मा ३० निवेदन प्राप्त भई १ मुद्दा दर्ता भएको थियो भने आर्थिक वर्ष २०८१÷०८२ मा ४५ निवेदनमध्ये ५ मुद्दा दर्ता भएका छन् । चालु आर्थिक वर्ष २०८२÷०८३ मा हालसम्म ११६ निवेदन प्राप्त भइसकेको र ४ मुद्दा दर्ता भएको विवरण सार्वजनिक गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंले डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराध र अनलाइन हिंसाका घटना चुनौतीका रूपमा देखा परेको बताउनु भयो । उहाले यस्ता समस्याको न्यूनीकरणका लागि समुदायस्तरमै डिजिटल सचेतना अभिवृद्धि आवश्यक रहेको उल्लेख गर्दै अभियानलाई सफल बनाउन प्रहरी प्रशासनले पूर्ण सहकार्य गर्ने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा सहभागी सरोकारवालाले अनलाइन हिंसालाई गम्भीर सामाजिक तथा कानुनी चुनौतीका रूपमा चित्रण गर्दै यसको रोकथामका लागि विद्यालय, परिवार, समुदाय, सञ्चारमाध्यम, स्थानीय तह तथा सुरक्षा निकायबीच समन्वयात्मक सहकार्य आवश्यक रहेको बताएका थिए ।