उदयपुर, जेठ ५ । उदयपुर जिल्ला पुनः पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको छ ।(आज) मंगलबार गाईघाटस्थित हिमालयन होटलमा आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले उदयपुरलाई दशौँ पटक पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गर्नु भएको हो । जिल्ला खोप समन्वय समिति उदयपुरका सदस्य सचिव राम नरेश ठाकुरका अनुसार जिल्लाभर सञ्चालन गरिएको घरधुरी सर्वेक्षणमार्फत पाँच वर्षमुनिका खोप नलगाएका तथा आंशिक खोप लगाएका बालबालिकाको खोजी गरी उनीहरुलाई आवश्यक सबै खोप उपलब्ध गराइएको हो । सर्वेक्षणका क्रममा दुई जना ‘शून्य डोज’ बालबालिका र १३२ जना आंशिक खोप लगाएका बालबालिका फेला परेका थिए । ती सबै बालबालिकालाई आवश्यक खोप प्रदान गरिएपछि जिल्लाको पूर्णखोप प्राप्त दर शतप्रतिशत पुगेको जनाइएको छ । यस वर्ष जिल्लाका आठवटै स्थानीय तहमा घरधुरी सर्वेक्षण सञ्चालन गरिएको थियो । सर्वेक्षणअनुसार जिल्लाको कुल जनसंख्या ३ लाख ६८ हजार ७९ रहेको छ । त्यसमध्ये १५ महिनामुनिका ५ हजार १२७ जना तथा १६ महिनादेखि ५९ महिनासम्मका १५ हजार ५१ जना बालबालिका पहिचान गरिएको जनाइएको छ । नेपाल सरकारले जारी गरेको राष्ट्रिय निर्देशिका अनुसार ‘खोज र खोप’ रणनीति अवलम्बन गर्दै जिल्लामा पूर्णखोप सुनिश्चितता कार्यक्रम सञ्चालन गरिएको हो । उदयपुर जिल्ला पहिलो पटक विसं २०७४ माघ १६ गते पूर्णखोप जिल्ला घोषणा भएको थियो । त्यसयता प्रत्येक वर्ष जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गर्दै प्रमाणीकरण गरिँदै आएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत बालबालिकालाई विभिन्न प्राणघातक रोगविरुद्ध निःशुल्क खोप सेवा प्रदान गरिँदै आएको छ । जिल्लाभर २५६ वटा खोप केन्द्र तथा सेसनमार्फत नियमित खोप सेवा सञ्चालन भइरहेको जनाइएको छ ।





