भाइ हत्या गरी फरार रहेका युवराज राई प्रहरी नियन्त्रणमा

0
60

रेडियो उदयपुर – आफ्नै कान्छो भाइ धर्मराज राईको हत्या गरी फरार भएका उदयपुरको त्रियुगा नगरपालिका–१ हाटखोलाचोक निवासी ४२ वर्षीय युवराज राईलाई प्रहरीले पक्राउ गरेको छ। फरार रहेका उनलाई त्रियुगा नगरपालिका–४ बगाहाबाट खटेको प्रहरी टोलिले त्रियुगा नगरपालिका–४ सालघारी बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। जिल्ला प्रहरी प्रमुख एसपी राजन चापागाईंका अनुसार दिनभर लुकेर बसेका उनी भोकको कारण खानेकुरा खोज्दै पसलमा आएका बेला सुरक्षामा तैनाथ प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। फरार आरोपितको खोजतलासका क्रममा प्रहरीले हुलियासहित सूचना जारी गर्दै स्थानीयलाई कतै देखिए खबर गर्न आग्रह गरेको थियो। सोही क्रममा पसलमा आएको खबर प्राप्त भएपछि सुरक्षामा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। प्रहरी नायब उपरीक्षक केदारमान डोङका अनुसार दिनभर लुकेर बेपत्ता रहेका आरोपित साँझपख मानिसको आँखा छल्दै पसलमा खानेकुरा खोज्न आएका बेला पक्राउ परेका हुन्। पक्राउपछि उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो।  बगाहामा उनको कान्छी श्रीमतीतर्फको ससुराली घर रहेको र उनी त्यहीँ लुक्न वा आउन सक्ने आशंकाका आधारमा प्रहरीले सो क्षेत्रमा सुरक्षात्मक निगरानी तथा तैनाथी बढाएको जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार शुक्रबार राति आमामाथि कुटपिट भएको विषयलाई लिएर दाजु–भाइबीच वादविवाद भएको थियो। सोही क्रममा ४२ वर्षीय युवराज राईले आफ्नै ३० वर्षीय कान्छो भाइ धर्मराज राईमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।