रेडियो उदयपुर , मंसिर १५ सोमबार । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। नगरपालिकाको वडा नं. १०, वासबारीस्थित भवनलाई नगरप्रमुख बसन्तकुमार बस्नेतले उद्घाटन गर्नु भयो। नवनिर्मित भवन अपाङ्गमैत्री, बालबालिकामैत्री तथा फरक क्षमतामैत्री सुविधा सहित आधुनिक संरचनामा निर्माण गरिएको छ। भवनमा विद्युतीय भ¥याङ (लिफ्ट), अन्डर–पार्किङ साथै सहज पहुँचका पूर्वाधारहरू व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत कुमार कोइरालाले बताउनु भयो। पुरानो भवन सानो र अपुग भएकाले नगरपालिकाले विगतमा दुई स्थानबाट सेवाप्रवाह गर्दै आएको थियो। नयाँ भवन सञ्चालनमा आएपछि अब सबै सेवा एउटै स्थानबाट सहज रूपमा उपलब्ध हुने प्रमुख प्रशासकीय अधिकृत कुमार कोइरालाले बताउनु भयोे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख बस्नेतले नयाँ भवनले सेवा दिने मात्र नभई नविनतम सोच र कार्यशैलीसहित जनताले अनुभूत गर्न सक्ने किसिमले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कुल ८४ कोठा रहेको चार तले उक्त भवन निर्माणको जिम्मा ज्ञान ज्योति बिल्डर्स प्रा.लि., काभ्रेलाई दिएको थियो । उद्घाटन समारोहमा दनुवार, राई लगायत विभिन्न जातजातिको आकर्षक झाँकी तथा सांस्कृतिक प्रस्तुति समेत प्रदर्शन गरिएको थियो।







