युवा महिलालाई ह्यान्डमेड –स्लिपर बनाउने तालिम सम्पन्न

0
57

रेडियो उदयपुर, मंसिर १८ गते, बिहिबार । महिलाले आयआर्जन गर्न सक्ने व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले “ह्यान्डमेड लेडिज् चप्पल–स्लिपर बनाउने तालिम” बुधवार सम्पन्न भएको छ। मंसिर ११ गते बिहीबारदेखि सुरु भएको तालिम मंसिर १७ गते बुधबार सम्म सञ्चालन गरिएको थियो। महिला सशक्तीकरण स्रोत केन्द्रको आयोजनामा सञ्चालन भएको उक्त तालिममा स्थानीय १७ जना युवा महिलाहरूको सहभागिता रहेको थियो। प्रशिक्षणका क्रममा डिजाइन, ढाँचा तयार गर्ने, सामग्री छनोट तथा निर्माणका विभिन्न सीपहरू सिकाइएको प्रशिक्षक सबिता थापाले बताउनुभयो। तालिममा सहभागीहरूले सुरुमा चप्पल बनाउने सीप निकै अफ्ठ्यारो लागेको तर सिक्दै जाँदा सजिलै गर्न सकिने र आफूहरूले यसलाई निरन्तरता दिने बताएका छन् । उनीहरूले यस्तो उपयोगी सीप सिक्ने अवसर पाएकोमा खुसी व्यक्त गरेका छन् ।
त्यसैगरी, महिला सशक्तीकरण स्रोत केन्द्रका कार्यकारी निर्देशक बन्दना दनुवारले सीप विकासमार्फत युवा महिलाहरूलाई आत्मनिर्भर र उद्यमशील बनाउन यस्ता कार्यक्रमहरूले महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । कार्यक्रमको समापन समारोहमा सहभागी महिलाहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। प्रमाणपत्र महिला सशक्तीकरण स्रोत केन्द्रका अध्यक्ष ज्योति दनुवार र कार्यकारी निर्देशक बन्दना दनुवारले संयुक्त रूपमा प्रदान गर्नु भएको थियो । तालिम उदयपुरको राजावास नवउदयटोलस्थित महिला सशक्तीकरण स्रोत केन्द्रको सभाहलमा सम्पन्न भएको हो।