रेडियो उदयपुर, २०८२ कात्तिक ९ गते आईतबार । उदयपुरको गाईघाटमा यस वर्षको छैठ पुजाको तयारी अन्तिम चरणमा पुगेको छ। कार्तिक १० गते सोमबार मनाइने छैठ पर्वका लागि करिब ९५ प्रतिशत काम पूरा भइसकेको त्रियुगा छैठ पुजा समितिका कोषाध्यक्ष सुरज शाहाले जानकारी दिनु भयो । छैठ पुजाको अवसरमा त्रियुगा नदी किनार क्षेत्रलाई आकर्षक रूपमा सजाइँएको छ। नदी आसपासको सरसफाइ अभियान सम्पन्न भइसकेको छ भने वातावरणलाई हरियाली र रमणीय बनाउन हरियाली सिँगार तथा बत्ती सजावट गरिएका छन्।
समितिका अनुसार मुख्य गेट, झिलिमिली बत्तीहरू, पुजाको लागि डाँड निर्माण लगायतका तयारीहरू पूरा भइसकेका छन्। त्यस्तै, कार्यक्रम स्थलको स्टेज निर्माण अन्तिम चरणमा पुगेको छ भने नदीको वारीपारी जोड्ने अस्थायी पुल निर्माण कार्य पनि लगभग पूरा भैसकेको त्रियुगा छैठ पुजा समितिका कोषाध्यक्ष शाहाले बताउनुभयो ।
छैठ पर्वको पहिलो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिई पूजाको सुरुवात गरिन्छ भने दोस्रो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पर्वको समापन गरिन्छ। हरेक वर्षजस्तै यस वर्ष पनि गाईघाटमा हजारौँ श्रद्धालु भक्तजनहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।





