रेडियो उदयपुर, २०८२ कार्तिक २ गत आईतबार । चाडपर्वलाई लक्षित गर्दै उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडा चोकमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । स्थानीय युवाहरूको पहलमा गरिएको उक्त अभियानमा सडक, बजार क्षेत्र र वरपरका फोहोर हटाइने तथा झाडीहरू काट्ने कार्य गरिएको हो । स्थानीय युवा प्रवेश ठकुरीका अनुसार चाडबाड नजिकिँदै गर्दा बजार क्षेत्र सफा र आकर्षक देखिने उद्देश्यले सरसफाइ अभियान आयोजना गरिएको हो । उहाले भन्नुभयो, “हाम्रो गाउँ, हाम्रो बजार नै हाम्रो पहिचान हो, त्यसैले नियमित रूपमा सरसफाइ गर्नु सबैको जिम्मेवारी हो।”अबदेखि प्रत्येक महिना मोतिगडा चोकमा नियमित सरसफाइ अभियान सञ्चालन गरिने पनि जानकारी दिनुभयो । ठकुरीले स्थानीय बासिन्दाहरूलाई आफ्नो घर र पसल अगाडिको क्षेत्र सफा राख्न आग्रह गर्दै सामूहिक सहयोगबिना सफा र स्वस्थ समाज सम्भव नभएको बताउनुभयो । युवाहरूको यस्तो सकारात्मक र सक्रिय पहलले स्थानीयवासीहरूमा सरसफाइप्रतिको चेतना बढाउने विश्वास गरिएको छ । यस अभियानले समुदायमा सहकार्य र एकताको भावना जागृत गरेको छ भने, नियमित सरसफाइले मोतिगडा क्षेत्रलाई अझ स्वच्छ, सुन्दर र व्यवस्थित बनाउन सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।