Wednesday, August 5, 2026
Homeप्रमुख समाचारओरेक उदयपुरको आयोजनामा तीन महिने ढाका बुनाई तालिम सुरु

ओरेक उदयपुरको आयोजनामा तीन महिने ढाका बुनाई तालिम सुरु

रेडियो उदयपुर, २०८२ साउन ३० — ओरेक उदयपुरको आयोजनामा त्रियुगा नगरपालिका–९ स्थित ओरेकको शाखा कार्यालयमा तीन महिनाको ढाका बुनाई सिपमूलक तालिम सुरु भएको छ। महिला सशक्तीकरण र महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि, लैंगिक हिंसाबाट प्रभावित महिलाहरूलाई समाजमा सम्मानजनक जीवनयापन गर्न सक्षम बनाउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको हो। तालिम साउन १२ गतेदेखि सुरु भई कात्तिक १२ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रमको उद्घाटन समारोहमा तालिमका सहभागीलाई तालिमको उद्देश्य, अपनाउनुपर्ने नियम, प्रशिक्षकको भूमिका तथा जिम्मेवारीबारे ओरेक उदयपुरका जिल्ला संयोजक वाला कार्कीले जानकारी दिनु भएको छ । उहाले तालिम सञ्चालनका रणनीतिहरू र महिलाको जीविकोपार्जन सुधार गर्न रोजगारीको अवसर सृजना गर्ने योजनाबारे पनि स्पष्ट पार्नु भयो
संस्थाले तालिमको तीन महिनाको अवधिमा केवल सीपमूलक प्रशिक्षण मात्र नभई सूचना तथा सचेतना कार्यक्रम, विभिन्न पैरवीमूलक गतिविधि, समुदायस्तरीय सवालको पहिचान र क्षमतावृद्धिका कार्यक्रम समेत सञ्चालन गर्ने जनाएको छ। महिलाप्रतिको विभेदपूर्ण सामाजिक तथा नीतिगत व्यवहार अन्त्यका लागि निजी तथा सरकारी साझेदारी विकास गर्ने, पारदर्शिता र जवाफदेहिताको लागि निरन्तर पहल गर्ने पनि संस्थाको लक्ष्य रहेको छ।
ओरेक उदयपुरले विशेषगरी समाजमा पछाडि पारिएका वर्ग, लिंग र समुदायका महिलाहरूलाई समूह र संस्थामा संगठित गर्दै सामाजिक आत्मस्वाभिमानसहितको जीवनयापनका लागि सहयोग र सहजीकरण प्रदान गर्दै आएको छ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular