उदयपुर । दनुवार समुदायको साझा पर्वको रुपमा रहेको “न्वाङी पर्व” मंसीर २५ मा मनाउने घोषणा गरेको छ । शुक्रवार उदयपुरको त्रियुगा नगरपालिका ८ वैरेनीमा शुरु भएको पहिलो दनुवारी खाना परिकार तथा साँस्कृतिक उत्सवले २०८१ उक्त घोषणा गरेको हो ।
आफनो प्रमुख पर्वको रुपमा “न्वाङी पर्व” लाई मनाउदै आइरहेको थियो तर कहिले मनाउने भन्ने विषयमा अन्योल रहेका समुदायले उत्सवको अवसरमा पर्वलाई राष्ट्रिय चाडको रुपमा हरेक बर्ष मंसीर २५ लाई “न्वाङी पर्व” पर्व मनाउने आधिकारीक घोषणा गरेको छ ।
कोशि प्रदेशका उप सभामुख सृजना दनुवारको प्रमुख आतिथ्यता र त्रियुगा नगरपालिका उप प्रमुख महेश्वरी राई,पाचखाल नगरपालिका उप प्रमुख सुर्यमाया दनुवार,त्रियुगा नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष अमर बहादुर दनुवार,वडा नम्वर ८ का वडा अध्यक्ष राजकुमार राउत,वडा नम्वर ९ का वडा अध्यक्ष राजकुमार दनुवार र दनुवार अभियान्ता,विभिन्न जातिय संघ संस्थाका प्रतिनिधीहरु विच “न्वाङी पर्व” लाई मंसीर २५ मा साझा रुपमा मनाउने घोषणा गरेको हो । लोप हुदै गएको परम्परालाई साझा रुपमा मनाउने प्रस्तावलाई उत्सवको रुपमा लिएको छ ।
यस्तै उपसभामुख दनुवारले “न्वाङी पर्व” संरक्षण ,प्रर्बद्धन गर्न प्रदेश सरकार समक्ष पेश गर्ने बताउनुभयो । यस्तै दनुवार समुदायको बाहुल्य रहेको त्रियुगा नगरपालिकामा मंसिर २५ लाई स्थानिय बिदाको व्यवस्थापन सहयोग गर्ने त्रियुगा नगरपालिकाका उप प्रमुख महेश्वरी राईले बताउनु भयो ।
दनुवार जातीहरुको परम्परागत खाना परिकारको विक्रि प्रदर्शनी तथा दनुवार जातीको भेषभुषाहरुको प्रदर्शनी गर्नका लागि उत्सवको आयोजना गरिएको हो । दुई दिन सम्म संचालन हुने महोत्सवमा दनुवार जातीको भाषा, धर्म संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरेको आयोजक दनुवार जागरण समिति उदयपुरका अध्यक्ष राजकुमार दनुवारले जानकारी दिनु भयो ।
महिला सशत्तिकरण स्रोत केन्द्र उदयपुर, दनुवार महिला समाज सुधार संघ, दनुवार जागरण समिति, नेपाल दनुवार समाज उदयपुर, आदिम कला केन्द्र, बैरेनी टोल विकास संस्थाको संयुक्त आयोजना गरिएको कार्यक्रममा दनुवार जातिहरुको विभिन्न जातिय झाकी राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सांस्कृतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।
यस्तै उत्सवमा रामदल नृत्य प्रतियोगिताको आयोजना गरिएको छ ।