अप्सरा समाल,उदयपुर । महिलाहरुले आफु हिंसामा परेको थाहाँ हुदाहुदै पनि अझै भन्न सकिरहेको अवस्था नरहेको महिलाहरुले बताएका छन् । २९ औं अन्तराष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिवसिय अभियानको आज दोश्रो दिन आयोजना गरिएको “महिला माथी हुने हिंसाले महिला स्वास्थ्यमा पारेको प्रभाव” विषयक अन्तरक्रिया कार्यक्रममा सहभागि महिलाहरुले यस्तो बताएका हुन् ।
उनिहरुले ग्रामिण समुदायका महिलाहरु अझै पनि श्रीमानको यौन चाहाना र आवश्यकता मात्र पुरा गर्नु पर्ने बाध्यतामा रहेको बताएका छन् ।
कार्यक्रमा बोल्दै महिलाहरुले पहिला ओरेक नेपालले सञ्चालन गरेको स्वास्थ्य परामर्श केन्द्रहुदा आफुहरुलाई आफ्नो समस्या सहज रुपमा राख्न सजिलो भएको तर अहिले वडा स्तरमा स्वास्थ्य परामर्श केन्द्र नहुदा महिलाहरुलाई आफ्नो समस्या राख्ने ठाउँ समेत नभएको गुनासो गरेका छन् ।
ओरेक नेपालले सञ्चालन गरेको स्वास्थ्य परामर्श केन्द्रबाट सञ्चालन हुने सेवा निरन्तर नहुदा समुदायका महिलाहरु आफ्नो समस्या लुकाएर बस्न बाध्य भएका छन् ।
ओरेक नेपालले स्थापना कालदेखि समुदाय स्तरमा महिला स्वास्थ्य परामर्श केन्द्र सञ्चालन गर्दै आएको थियो । तर पछिल्लो समयमा पाठेघर खसेका, रिंगपेसरी राख्ने सेवा स्वास्थ्य कर्मिले मात्र राख्न पाउने व्यवस्था भएपछि ओरेक नेपालले सञ्चालन गर्दै आएको स्वास्थ्य परामर्श केन्द्र २०६९ सालमा सरकारलाई हस्तान्त्रण गरेको थियो ।
स्वास्थ्य परामर्श केन्द्र हस्तान्त्रण पश्चात समुदाय स्तरमा स्वास्थ्य परामर्श केन्द्र नहुदा नियमित चेकजाच र मनोविमर्शको सेवा नहुदा महिलाहरुलाई समस्या भएको हो ।
उदयपुरको त्रियुगा नगरपालीका वडानम्बर ९ स्थित ओरेक नेपालमा आज भएको लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता ः व्यक्ति, समाज र सवैको ऐक्यबद्धता भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा महिलाहरुले खुलेर आफ्नो समस्या व्यक्त गरेका छन् ।
ओरेक नेपालको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रम ओरेक नेपालका केन्द्रिय अध्यक्ष रामबति चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा ओरेक नेपालकी स्वास्थ्य कर्मी ज्योति दनुवारले अवधारण प्रस्तुत गर्नु भएको थियो भने तथ्यांक व्यवस्थापक मेनका क्षेत्रिले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
कार्यक्रममा ओरेक नेपालका महिला स्वास्थ्य नेटवर्कका महिला सदस्यहरु, स्थानीय अगुवामहिलाहरु र समुदायका महिलाहरुको उल्यख्य सहभागिता रहेको थियो ।