बन्दाबन्दीमा महिला तथा बालिकामाथि हुने हिंसाका घटनामा वृद्धि 

0
361

उदयपुर । कोरोना सङक्रमण रोकथामका लागि लागू गरिएको बन्दाबन्दीमा महिला तथा बालिकामाथि हुने हिंसाका घटनामा तुलनात्मक रुपमा वृद्धि भएको एक अध्ययनले देखाएको छ ।

बन्दाबन्दीको पछिल्लो तीन महिनामा मात्रै आठ सय ४३ महिला हिंसाका घटना भएको महिला पुनःस्थापना केन्द्र ओरेकले गरेको अध्ययनले देखाएको हो ।

अभिलेखकिरण भएका हिंसाका घटनामध्ये सबैभन्दा बढी ५८ प्रतिशत अर्थात चार सय ९० वटा घटना घरभित्रकै सदस्यको संलग्नतामा भएको पाइएको ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले जानकारी दिनुभयो ।

कार्यकारी निर्देशक न्यौपानेले अनुसार प्रत्येक व्यक्तिका लागि घर सुरक्षित हुन्छ भन्ने मान्यता रहेको छ ।तर यस तथ्याकंले घरभित्रै महिला र बालिका अझ बढी असुरक्षित र हिंसाको जोखिममा रहेका देखाउँछ ।
बालिका र महिलालाई हेर्ने हानिकारक सोचका कारण महिला हिंसाका घटना नियन्त्रण हुन सकेका छैन । घरेलु हिंसा प्रभावितले नै घर छोड्नुपर्ने, समयमा न्यायिक कारवाही नहुने, पीडकले पटकपटक धम्की दिने, सामाजिक रुपमा लाल्छना खप्नुपर्ने, पारिवारिक र सामाजिक सहयोगको कमी हुने, बालबालिकाको पालन पोषणका लागि चुनौती खप्नुपर्नेजस्ता कारणले गर्दा अझ धेरै घटना बाहिर आउन नसकेको बताउनुभयो ।
यसका लागि सरकारले घरेलु हिंसामा संलग्न व्यक्तिलाई कानूनी कारवाही र आवश्यकताअनुसार सुधार गृहमा राख्ने र प्रभावितलाई घरमा नै सुरक्षितरुपमा रहने वातावरण निर्माण गरी प्रभावितको शिक्षा, स्वास्थ्य तथा जीविकोपार्जनका लागि सहयोग गर्नुपर्ने आवश्यकता छ ।

ओरेकले सञ्चालन गरेको तीन हटलाइन, मनोविमर्शकर्ता, महिला मानवाधिकार रक्षक, साझेदार महिला सामुदायिक सङ संस्थामार्फत ६१ जिल्लाबाट यी घटना अभिलेखीकरण गरिएको र यीमध्ये एक सय १२ वटा घटना सञ्चारमाध्यमबाट संकलन गरिएको ओरेकले जनाएको छ ।