उदयपुर,कात्तिक १ । उदयपुरको कटारीमा ईभीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि स्थानीयले मदन भण्डारी लोकमार्गअन्तर्गत कटारी खण्ड अवरुद्ध गरेका छन्।
शनिबार राति भएको दुर्घटनामा कटारी नगरपालिका–५ का स्थानीय सुमन श्रेष्ठको मृत्यु भएपछि आइतबार बिहानैदेखि स्थानीयले सडक अवरुद्ध गरेका हुन्। उनीहरूले लापरबाहीपूर्ण रूपमा सवारी चलाउने चालकलाई कडा कारबाही गर्नुपर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन्।
सडक अवरुद्ध हुँदा दसैँ मनाउन गन्तव्यतर्फ हिँडेका सयौँ साना–ठूला यात्रुवाहक सवारीसाधन बाटोमै अलपत्र परेका छन्। समाचार तयार पार्दासम्म सडक सञ्चालनमा आउन सकेको छैन।
शनिबार राति साढे ९ बजे गाईघाटबाट काठमाडौं जाँदै गरेको बा १–००७ ख ६८४४ नम्बरको ईभीले कटारी नगरपालिका–५, भोर्लेस्थित मदन भण्डारी लोकमार्गमा विपरीत दिशाबाट आइरहेको प्र १–०५–००१ प ९६४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक श्रेष्ठ गम्भीर घाइते भएका थिए।
कटारी नगरपालिका–५ स्थित देवी माध्यमिक विद्यालयमा लेखापालका रूपमा कार्यरत श्रेष्ठलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कटारी लगिएको थियो। उपचारकै क्रममा केही घण्टापछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक उपेन्द्र खरेलका अनुसार ईभी चालक सिन्धुलीको सुनकोसी गाउँपालिका–६ का २२ वर्षीय चेतराज भुजेललाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको छ। मृतकको शव अस्पतालमै राखेर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।






