उदयपुर, असोज २९ । उदयपुरको त्रियुगा नगरपालिका–७ कालीखोला सुर्केस्थित मदन भण्डारी लोकमार्गमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। आज दिउँसो काठमाडौंबाट धरानतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ८५२२ नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो।
दुर्घटनामा चौदण्डीगढी नगरपालिका–२ बसाहा निवासी १८ वर्षीया सोनु बसेल गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याइएकोमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा बसमा सवार अन्य १५ जना घाइते भएका छन्। घाइतेमध्ये ओखलढुंगाको लिखु गाउँपालिका–३ निवासी ३२ वर्षीय धनबहादुर जोगीको अवस्था मध्यम रहेकाले थप उपचारका लागि धरान रिफर गरिएको छ। अन्य घाइतेहरूको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ।
घाइते हुनेहरूमा खोटाङकी जिना राई, संखुवासभाका छिजी शेर्पा र उनका श्रीमान् निङमा शेर्पा, सुनसरीकी माया भुजेल र उनका ९ वर्षीय छोरा सक्षम भुजेल, पाँचथरका वीरेन्द्र थाम्सुहाङ, उदयपुरकी विमला नेपाली, खोटाङकी कमला बस्याल, संखुवासभाकी पवित्रा कटवाल, काठमाडौंकी लुना कार्की र उनका ९ वर्षीय छोरा आगमन, खोटाङकी पदमकला राई, मोरङकी भूमिका कार्की तथा धनकुटाकी मन्दिरा तामाङ रहेका छन्।
प्रहरीका अनुसार घाइतेमध्ये केहीको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य रहेको छ। बस चालक ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१० निवासी ३० वर्षीय सुमन खत्रीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






