उदयपुर २०८३ असोज १६।  त्रियुगा नगरपालिकाले डेंगी तथा किटजन्य रोग नियन्त्रण र रोकथामका लागि आज शुक्रबारदेखि नगरभरि ‘हरेक शुक्रबार, सफा शुक्रबार’ अभियान सञ्चालनमा ल्याएको छ।

असोज महिनाभरि सञ्चालन हुने अभियानअन्तर्गत नगरपालिकाका १६ वटै वडाका सार्वजनिक स्थल, सरकारी तथा निजी कार्यालय, विद्यालय र समुदायमा पुगेर लामखुट्टेको सम्भावित प्रजननस्थलको खोजी गरी नष्ट गरिने नगरपालिकाले जनाएको छ।

अभियानबारे जानकारी दिँदै नगरप्रमुख बसन्त बस्नेतले डेंगीको जोखिम न्यूनीकरणका लागि स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेकाले अभियान सञ्चालन गरिएको बताउनुभयो।

उहाँका अनुसार डेंगीको जोखिम बढी रहेका वडा नम्बर ३, १०, ११, १२ र १३ मा विभिन्न सरकारी तथा सामाजिक संघसंस्थाको सहकार्यमा बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म विशेष ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ।

नगरपालिकाले अभियानसँगै डेंगी रोकथामसम्बन्धी जनचेतनामूलक कार्यक्रम, विद्यालयमा स्वास्थ्य शिक्षा तथा सरसफाइ अभियानलाई समेत प्रभावकारी रूपमा अघि बढाउने जनाएको छ।

डेंगी तथा किटजन्य रोगको सम्भावित जोखिमबाट बच्न घर–आँगन तथा वरपर पानी जम्न नदिन र नियमित सरसफाइमा ध्यान दिन नगरपालिकाले नगरवासीलाई आग्रह गरेको छ।