उदयपुर, २६ भदौ । उदयपुरमा प्रहरीले १०१ किलो ६४० ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित पाँचजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिराहाको लहान नगरपालिका क्षेत्रका चार पुरुष र एक महिला रहेका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी गणेशबहादुर बमका अनुसार प्रहरी चौकी लालपत्ताबाट खटिएको टोलीले बुधबार साँझ त्रियुगा नगरपालिका–६ स्थित लालपत्ता चेकपोस्टमा सवारीसाधन जाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो। उनका अनुसार गाईघाटबाट कदमाहातर्फ जाँदै गरेको ना १ ज ८५०९ नम्बरको विंगरमा सवार तीनजनाबाट ६० किलो ९३० ग्राम गाँजा बरामद भएको थियो। उक्त विङ्गरमा एक महिला र दुई पुरुष सवार थिए ।
त्यसैगरी, को १ ज ३३१२ नम्बरको अर्को विङ्गरमा सवार दुई पुरुषबाट ४० किलो ७१० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ। दुवै सवारीसाधनबाट लुकाइछिपाइ लैजान लागिएको कुल १०१ किलो ६४० ग्राम गाँजा बरामद भएपछि पाँचैजनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका पाँचैजनालाई जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।






