उदउपुर । उदयपुरमा ब्राउन सुगर जस्तो देखिने लागूऔषध पदार्थसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका–३, हात्तीमारा बस्ने २४ वर्षीय अर्जुन रोक्काको घरमा लागूऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले खानतलासी गरेको थियो। बुधबार साँझ करिब ५ बजे अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले रोक्काको शरीर तथा घरकोठा खानतलासी गर्दा प्लास्टिकका सातवटा साना पोकामा राखिएको प्लास्टिकबाहेक २.०८० ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारेको हो। प्रहरीले रोक्कासँगै रहेका त्रियुगा नगरपालिका–१२, बोटे टोलका २३ वर्षीय सञ्चित परियारलाई समेत पक्राउ गरेको छ। साथै परियारले प्रयोग गरेको प्र.१–०५–००१ प ८०३४ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई उक्त पदार्थ र मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।