उदयपुर, २६ भदौ । उदयपुरको मदन भण्डारी आँखा अस्पतालले यसअघि निःशुल्क रूपमा गर्दै आएको आँखा शल्यक्रिया सेवासँगै सशुल्क शल्यक्रिया सेवा पनि सुरु गरेको छ ।निःशुल्क शल्यक्रियामा बिरामीको चाप बढ्दै गएपछि लामो समय कुर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै अस्पतालले सशुल्क सेवा सुरु गरेको हो।

अस्पतालमा भदौ २५ गते बिहीबार दोस्रो पटक सशुल्क आँखा शल्यक्रिया गरिएको छ। शल्यक्रियाका लागि १८ जना बिरामी भर्ना भएकामा दुई जनामा सुगर देखिएपछि शल्यक्रिया गर्न नमिल्ने भएको र १६ जनाको शल्यक्रिया गरिएको नेत्र चिकित्सक मुरारी तिम्सिनाले बताउनुभयो। शल्यक्रिया गरिएकामध्ये १५ जनाको मेजर मोतियाबिन्दु र एक जनाको माइनर अर्थात् सामान्य आँखाको शल्यक्रिया गरिएको हो।

यसअघि साउन २८ गते पहिलो पटक सशुल्क शल्यक्रिया गरिएको थियो। त्यस क्रममा १५ जनाको शल्यक्रिया गरिएकामा १३ जनाको मेजर मोतियाबिन्दु र दुई जनाको माइनर शल्यक्रिया गरिएको थियो। सशुल्क सेवामार्फत बिरामीले निःशुल्क सेवाको तुलनामा छिटो शल्यक्रिया गराउन सक्ने अस्पतालले जनाएको छ। हाल मोतियाबिन्दुको शल्यक्रियाका लागि ४ हजार ४ सय रुपैयाँ शुल्क लिने गरिएको छ।

हालै गरिएको शल्यक्रियाबाट उदयपुरको गाईघाट, जोगीदह, साउनेखाबु, मुर्कुची लगायतका क्षेत्रका नागरिकले सेवा लिएका छन् भने यसअघि अस्पतालमा उदयपुरसँगै खोटाङ, भोजपुर र ओखलढुङ्गाका नागरिकसमेत आँखा उपचार तथा शल्यक्रियाका लागि आउने गरेको चिकित्सक मुरारी तिम्सिनाले बताउनुभयो। अस्पतालमा एकपटकमा ४० जनासम्मको शल्यक्रिया गर्न सक्ने क्षमता रहेको छ। आगामी असोज २२ गते पनि सशुल्क आँखा शल्यक्रिया गरिने भएको छ।

हाल सशुल्क शल्यक्रिया महिनामा एकपटक गरिँदै आए पनि बिरामीको चापलाई हेरेर महिनामा दुईदेखि तीन पटकसम्म शल्यक्रिया गर्न सकिने चिकित्सक तिम्सिनाले बताउनुभयो। अस्पतालले बिरामीको आवश्यकता र चापअनुसार आँखा शल्यक्रिया सेवा विस्तार गर्दै लैजाने जनाएको छ ।